सदरलाइनडटकम,
बैतडी : स्काभेटरले किच्दा बैतडीमा बिहीवार विहान एक जनाको मृत्यु भएको छ । स्काभेटरले किच्दा मेलौली नगरपालिका ५ पेलेका ५५ वर्षीया शुक्रसिंह पुजाराको मृत्यु भएको हो । मेलौलीको लामालेक–ढणौन सडकखण्डको पेलेमा स्काभेटरमा सवार रहेका पुजाराको एक्कासी खसेर स्काभेटरले किचेको प्रहरीले जनाएको छ ।
लामालेक–ढणौन सडक निर्माणपछि घर निर्माण गर्न खन्नका लागि ल्याउँदै गरेका अवस्थामा बिहान ८ बजे पेले भन्ने ठाउँमा खसेको इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायब निरीक्षक मानसिंह बोहराले जानकारी दिए ।
स्काभेटर चालक दशरथचन्द नगरपालिका २ देहिमाडौंका ३० वर्षीय शेरीसिंह बोहरा फरार रहेकाले उनको खोजी भइहरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
