बाँकेका विभिन्न अस्पतालमा २३ जना डेंगुका विरामी उपचार गराउदै

२५ भाद्र २०७६, बुधबार १७:२८
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : बाँकेका बिभिन्न अस्पतालमा उपचारत २३ जना विरामीमा डेंगुको संक्रमण देखिएको छ । देशभर डेंगुको संक्रमण देखिरहेका बेला बाँकेमा पनि डेंगुको संक्रमण देखिएको हो । भेरी अस्पतालका अनुसार हालसम्म ७ जना बिरामीमा डेंगुको संक्रमण देखिएको र यो क्रम बढ्दो छ । अस्पतालका अनुसार डेंगुका बिरामी मध्ये कैलालीका १, बर्दियाका २, बाँकेका ४ गरी ७ जनामा डेंगुको संक्रमण देखिएको छ ।
भेरी अस्पतालमा हालसम्म ७ जना डेंगुका बिरामी भर्ना भएर उपचार भैरहेको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रूपानन्द अधिकारीले जानकारी दिए । उनले अस्पतालमा उपचारको लागि आएको विरामी मध्ये धेरैजसो जिल्ला बाहिरका भएको बताउदै नेपालगन्जबाट अन्यत्र जिल्ला गएर आएकामा डेंगुको संक्रमण रहेको बताए ।
यसैगरी स्वास्थ्य कार्यालय बाँकेका किट जन्य रोग फोकलपर्शन दुर्गा गौतमका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ११ जना विरामीमा डेंगुको संक्रमण देखिएको छ । यी ११ जना मध्येमा बाँकेका ३, बर्दियाको १, कैलाली ३, रुकुम १, दाङ्ग १ सुर्खेतका २ गरी ११ जना रहेका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज (नर्सिङ्गहोम) मा ५ जना डेंगुु रोगका संक्रमित विरामी छन् । उनीहरुमा ३ जना सुर्खेत, १ कालिकोट र १ दाङ्गका रहेका छन् ।
नेपालगन्जमा जोखिम खालको डेंगु नदेखिए पनि सतर्कता अपनाउनु पर्ने भन्दै अस्पतालले पानी जम्ने भाँडा गमला, खाली ड्रम, खाली बट्टा, गाडीका काम नलाग्ने टायरमा पानी जम्न नदिने सुझाब दिएको छ । पोथी लामखुट्टेको टोकाईबाट डेंगु लाग्ने भएकाले सावधानी अपनाउन आम जनमानसलाई अस्पतालले अनुरोध समेत गरेको छ ।
भेरी अस्पतालका बरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले अस्पतालमा फेला परेका डेंगुका बिरामीमा कडा संक्रमण नभएको जानकारी दिदै उपचारको लागि आएका अधिकांश विरामीहरु बुटवल, नारायणघाट, पोखरा जस्ता डेंगु फैलिएको ठाउ भ्रमण गरेर आएकाहरु रहेको बताए ।
उनले भने–‘बाँकेमा बाहिरी जिल्लाबाट उपचारमा आउनेमा डेंगु देखिए पनि यहींका बिरामीमा त्यस्तो कम पाइएको छ । भाइरल बिरामीको संख्या भने यहाँ बढेको छ ।’ डेंगुको डरका कारण भाइरल संक्रमण हुनेहरू पनि उपचारका लागि अस्पताल पुग्ने गरेको उनले बताए् । उनले भने–‘ज्वरो आउने, टाउको दुख्ने, जीउ दुख्ने, रुघाखोकी लाग्ने, ब्लडप्रेसर कम हुने डेंगुका लक्षण हुन् ।’

Next Post

नेपालगञ्ज विमानस्थलको स्तरोन्नती गरिने : मन्त्री भट्टराई

२५ भाद्र २०७६, बुधबार १७:२८
सदरलाइनडटकम, नेपालगञ्ज : सँस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालगञ्ज विमानस्थल स्तरोन्नती हुनेमा ढुक्क हुन बाँकेबासीसँग आग्रह गरेका छन् । बाँकेको प्रतिनिधी मण्डलसँग बुधवार आयोजित भेटघाटमा मन्त्री भट्टराईले नेपालगञ्जलाई मुलुककै स्तरीय विमानस्थलका रुपमा विकास गर्न आफु लागिपर्ने प्रतिवद्धता जनाएको भेटमा सहभागी नेकपा बाँकेका नेता रत्न खत्रीले जानकारी दिए […]