सदरलाइनडटकम,
दाङ : पित्तलको मुर्तिलाई सुनको मुल्यमा बेच्ने ५ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौदेखि पित्तलको बुद्धको मूर्ति खरीद गरी सुनको जलप लगाई भारतीय नागरिकलाई बेच्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त गिरोहले दाङको भारतीय सिमाना भैसाहीमा भारतीय नागरिकलाई १५ लाख ८९ हजार ५०० भारतीय रुपैयाँमा उक्त मूर्ति बेचेको खुल्न आएको छ । बुद्धको मुर्ति बेचेर फर्कने क्रममा बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ प्रेमनगर बस्ने शसे बिक, सोही ठाँउकी मन कुमारी खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । यस्तै रोल्पाको त्रीबेणी गाँउपालिका वडा नं. ९ डरुवाका प्रकाश केसी, जाजरकोट वारेकोट गाँउपालिका वाडा नं. ८ का पुर्ण बिक र दाङ तुल्सीपुर उपमहानगरपालिका वडा ५ वरुवा बस्ने हिरा बिकलाई लमही नगरपालिका वडा नं. ९ जलकुण्डीबाट प्रहरीले भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय अमिलियाको टोलीले खानतलासी गर्दा ठुलो परिमाणमा भारतीय रुपौयाँ बरामद गरेको दाङ प्रहरीले जनाएको छ । पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धानका लागि राजश्व विभाग कोहलपुर पठाईएको प्रहरीद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।