अदालतको आदेशपछि धामपुरबाट धमाधम तार तानिदै

३१ श्रावण २०७६, शुक्रबार १५:५०
 

सदरलाइन / रुद्र सुवेदी
राप्तीसोनारी (बाँके) : उच्च अदालत तुलसीपुरको नेपालगञ्ज ईजालसको आदेश लगत्तै बाँके जिल्लाको विकट राप्तीपारी बघौडा क्षेत्रमा विद्युतीकरणको काम तीब्र रुपले सुरु भएको छ । राप्तीपारी विद्युतको पोल गाडेको २३ वर्ष पुग्दा पनि विद्युत पुग्न नसक्दा अन्धकार अवस्थामै रहेको थियो ।
२०६६ सालको पुसमा १८ महिनामा सम्पन्न गर्ने गरी ठेक्का दिएको १० वर्ष बितिसक्दा काम नभएपछि प्राधिकरणले ठेक्का तोडेर आफै काम थालेपछि अब भने राप्तीसोनारी र बघौडाबासीको विद्युत सपना पुराहुने भएको हो । ठेकेदार कम्पनीले उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा दायर गरेको रिटमा आदेश प्राधिकरणको पक्षमा भएपछि पुनः काम सुचारु गरिएको हो ।
प्राधिकरणका क्षेत्रीय प्रमुख मनोजकुमार सिंह राप्ती सोनारी ४ धामपुरमा स्थापना भएको ३३ केभी प्रसारण लाइनको सव स्टेशनमा विद्युत परीक्षण भइसकेको र तार तन्ने काम जारी रहेकाले अब कुनै पनि बाहानामा काम नरोकिने दाबी गर्दै भने–‘ठेक्का रद्द भएर प्राधिकरण आफैले काम थालेको छ । फत्तेपुरको ११ केभी प्रसारण लाइनमा जोडेर बिनौना र बैजापुरमा एक महिनाभित्रै बत्ती बाल्न सकिन्छ । हामी सकेसम्म कोहलपुर स्टेशनमै जोडेर चाँडै विद्युत सेवा दिने लक्ष्यका साथ काम गरिरहेका छौं ।’
प्राधिकरणको धामपुर सवस्टेशनबाट कोहलपुर स्टेशनसम्म ४३ किलोमिटर तार टाँग्ने काम मात्र बाँकी छ । अधिकांश ठाउँमा पोल गाडिसकिएको छ । धामपुरबाट गैरीगाउँसम्म झन्डै तीन किलोमिटर तार तानी सकिएको छ । ‘हरेक दिन कम्तीमा एक किलोमिटर तार तन्दा पनि फत्तेपुर पुग्न एक महिना लाग्छ । फत्तेपुरको ११ केभीसम्म तार तानिएपछि बैजापुर र विनौनामा बत्ति बाल्न कुनै समस्या हुँदैन’, उनले भने ।
सो विद्युतीकरणका लागि राष्ट्रिय र सामुदायिक बनका दुई सय १४ रूख काट्नुपर्ने थियो । साढे ५ किलोमिटरमा रूख काट्नका लागि वन मन्त्रालयबाट स्वीकृति ल्याउनेदेखि नीतिगत र कानुनी व्यवस्थाका लागि बाँके निर्वाचन क्षेत्र नं १ क का सांंसद कृष्णा केसी नमुना र सो क्षेत्रबाट संघमा प्रतिनिधत्व गर्ने सांसद महेश्वर गजतराज अथकको पहलबाट अबरोध हटेको थियो ।
झन्डै साढे दुई दशकदेखिको राप्तीपारीका वासिन्दाको बिजुली बाल्ने सपना चाँडै हुने आशा बढ्दै गएको थियो । सांसदको सक्रियतासँगै कोहलपुरदेखि बैजापुरसम्म विद्युत सेवा विस्तारका लागि विद्युत विस्तारका लागि धमाधम काम अघि बढेको थियो ।
सो आयोजनाको ठेक्का लिएको उस्मा धुलिखेल गुरु ओम जेवीका ठेकेदार राजेन्द्रकुमार मिश्रले विभिन्न बाहाना गर्दै काममा १० वर्ष ढिलाइ गर्दै गएकोकारण ठेक्का तोडेर प्राधिकरण आफैले काम सुरु गरेको नेपाल विद्युत प्राधिकरण क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख मनोजकुमार सिंह बताउँछन् ।
उनले भने, ‘दुई सय पोल गाड्नुपर्ने थियो । राप्ती नदीमा दुई वटा टावर बनाउन बाँकी थियो । तार पनि तानेका थिएनन् । समयमै काम सम्पन्न गर्न स्थानीयको दवाब थियो तर ठेकेदार विभिन्न वाहानामा काम ढिलो गर्दै थिए । हामीले प्रकृया पुरा गरेर ठेक्का तोडेपछि उनी अदालत गए उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासले हाम्रै पक्षमा आदेश दिएपछि काम सुरु गरेका हौ ।’
निर्धारित मितिमा काम नसेको भन्दै प्राधिकरणले २४ वैशाख २०७६ मा ठेक्का रद्द गर्दैे र आफै काम गर्न थालेको सो विद्युतीकरणका लागि ३ पुस ०६६ मा सम्झौता भएको थियो ।
यसैबीच राप्ती सोनारी गाउँपालिकाको बैजापुर र विनौना पुगेकी प्रदेशसभा सदस्य कृष्णा केसी नमूनासँग स्थानीयले चाँडै विद्युत बाल्न पाउनु पर्ने माग गरेका छन् । ‘यो वा त्यो बाहानामा अब विद्युतीकरणको काम रोक्नु हुँदैन’, पूर्व संविधान सभा सदस्य समेत रहेका बैजापुरका पट्टु थारुले भने–‘वर्षौदेखिको विद्युत बाल्ने स्थानीयको सपना चाँडो भन्दा चाँडो पुरा गर्न आवश्यक छ ।’
सांसद नमूनाले विद्युत प्राधिकरणले काम जारी राखेकाले विद्युतको समस्या चाँडै समाधान हुने दाबी गर्दै भनिन–‘मेरो पूरै ध्यान राप्तीपारी कति चाँडो विद्युत सेवा विस्तार गर्ने भन्ने कुरामा केन्द्रीत छ । प्राधिकरण आफैले काम गर्दैछ । ठेक्काको काम भइ सकेको छ । बजेटको अभाव पनि छैन । अब कसैबाट अवरोध पनि छैन । तपाईहरुको बत्ति बाल्ने सपना चाँडै पूरा हुन्छ ।’
सुगम जिल्ला बाँकेको राप्तीपारीका राप्ती सोनारी गाउँपालिकाका तीन वडा र सिंगो नरैनापुर गाउँपालिकामा विद्युत सेवा छैन । विद्युत प्राधिकरणको धामपुर सव–स्टेशनबाट राप्ती सोनारी गाउँपालिकाको वडा नंं. ३, ४ र ५ का २१ हजार आठ सय ३६ र नरैनापुर गाउँपालिकाको ३४ हजार नौ सय ४२ गरी ५६ हजार ७ सय ७८ जनसंख्याले विद्युत लाभ पाउनेछन् । नरैनापुर क्षेत्रमा भने बिजुलीका पोल गाड्ने काम नै बाँकी छ । त्यो कामका लागि पनि ठेक्का भइसकेको प्राधिकरणले जनाएको छ ।

Next Post

डुडुवा अध्यक्ष कप क्रिकेटमा भोली सेमीफाइनल हुने

३१ श्रावण २०७६, शुक्रबार १५:५०
सदरलाइनडटकम, डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकास्तरीय प्रथम अध्यक्ष कप टि—२० क्रिकेट प्रतियोगितामा शनिवार सेमीफाइनलका खेल हुने भएका छन् । भोलीको पहिलो खेलमा वडा नं. ३ र वडा नंं. ६ भिड्ने भने दोश्रो खेलमा वडा नं. २ र ५ भिड्ने भएका हुन् । गाउँपालिका शिक्षा शाखाद्धारा आयोजित डुडुवा—५ छग्रहवाको खेल […]

सम्बन्धित