सदरलाइनडटकम,
नेपालगञ्ज : जिल्ला कारागार बाँकेमा कैदी बन्दीलाई भेट्न आएका एक जनाको साथबाट सशस्त्र प्रहरीले प्रतिबन्धित लागुऔषध बरामद गरेको छ । कैदीबन्दी भेट्न आएका नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ का गोबिन्द सुनारको साथबाट कारागारमा रहेको सशस्त्र प्रहरीले १ सय ५० मिलीग्राम ब्राउन सुगर बरामद गरेको हो ।
सुनारको झोला जाँच गर्न लाग्दा उनी झोला छोडेर फरार भएको सशस्त्र प्रहरी निरीक्षक जगदीशप्रसाद थारुले जानकारी दिए । सुनारको झोलामा रहेको क्रीमको बट्टामा तीन पुडिया ब्राउन सुगर फेला परेको उनले बताए ।
कर्तब्य ज्यान मुद्दामा कैदसजाय भोगी रहेका सानुबाबु भन्ने धनबहादुर सुनारलाई भेट्न आएका गोविन्द सुनार झोला छोडेर फरार भएपछि आवश्यक अनुसन्धानका लागि लागुऔषध ब्राउन सुगर जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक थारुले जानकारी दिए ।

