न्यायिक समितिमा सम्वन्ध विच्छेदका मुद्दा बढी

१९ चैत्र २०७५, मंगलवार १७:४१
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकामा रहेको न्यायिक समितिमा सम्बन्ध विच्छेदका मुद्दा बढी दर्ता भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनाको अवधीमा ७ वटा सम्वन्ध विच्छेदका मुद्दा दर्ता भएका हुन् ।
ती मुद्दाबारे शुरुमा सम्वन्धित पक्षलाई बोलाएर मेलमिलापको प्रयास गरिएपनि नमिलेपछि अदालत पठाउने गरेको समितिकी संयोजक एवं गाउँपालिका उपाध्यक्ष शाहिदा बानोले बताइन् । उनका अनुसार ७ वटा मुद्दामध्ये ६ वटा मुद्दा अदालतमा पठाइएको छ, भने १ वटा अझै मेलमिलापको क्रममा रहेको छ । योसंगै अन्य ससाना विवाद पनि बढी आउने गरेको उनले बताइन् ।
गतवर्ष २८ वटा दर्ता भएको विवादमध्ये २५ वटा विवादलाई समाधान गरि फच्र्यौट गरिएको छ । यो वर्षको ८ महिनामा १५ वटा विवाद दर्ता भएको समितिले जनाएको छ । घर परिवारमा सामान्य विवाद हुँदा झोकमा आएर समितिमा निवेदन दिने र पछि आफै नआउने गरेको घटना बढ्दै गएको उपाध्यक्ष बानोले जानकारी दिइन् ।
समितिमा घरायासी झगडा, श्रीमान् श्रीमतीको झगडा, सासु ससुराको झगडा, खेतबारीको विवादलगायतका निवेदन बढी आउने गरेको छ । गाउँपालिकामा भवनको अभावमा इजलाश कक्षको स्थापना गर्न नसकेको र हाललाई उपाध्यक्षको कोठालाई प्रयोग गर्ने गरिएको अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनले भवन व्यवस्थापनको पहल भईरहेकाले चाँडै इजलाश कक्षको स्थापना गर्ने जानकारी दिए ।

Next Post

खजुरामा अपांगतालाई परिचयपत्र प्रदान

१९ चैत्र २०७५, मंगलवार १७:४१
सदरलाइनडटकम, खजुरा (बाँके) : अपांगता भएका व्यक्तिहरुले पाउने सेवा सहज र प्रभावकारी बनाउने उद्देश्यले खजुरा गाउँपालिकाले अपांगता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण शुरु गरेको छ । खजुरा गाउँपालिका वडा नं. ८ बाट आज मंगलवारदेखि अपांगता परिचयपत्र वितरण शुरु गरिएको हो । विगतमा वितरण गरिएका अपांगता परिचयपत्रलाई अध्यावधिक गर्दै नयाँ परिचयपत्र वितरण […]