सदरलाइनडटकम,
बर्दिया : बर्दियाको बारबर्दिया नगरपालिका वार्ड नं. ६ जयनगरमा १५ देखि २४ बर्ष उमेर समुहका १६ जना युवा महिलाका लागि ३० दिने झोला बनाउने तालिम सञ्चालन गरिएको छ । युवामहिलालाई सिपमुलक तालिम प्रदान गरि व्यावसायसमेत शुरुवात गर्दै उनिहरुलाई आत्मनिर्भर तथा स्वारोजगार बनाउने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको हो ।
३० दिने तालिमको उद्घाटन गर्दै बारबर्दिया नगरपालिका उपप्रमुख अञ्जु दहितले बेरोजगार युवा महिलालाई यो तालिम आयआर्जनका लागि एउट ठुलो अवसर भएको बताइन् । यो अवसरलाई सहभागिहरुले राम्रो सदुपयोग गर्नसके उनिहरुको दैनिकीमा समेत आर्थिक अभाव नखटकिने भन्दै उनले आगामी बार्षिक योजनामा युवा महिला लक्षित कार्यक्रमहरु समेटिने जानकारी दिइन् ।
कार्यक्रममा वार्ड नं. ६ का अध्यक्ष कर्णबहादुर सुनारले तालिमको नियमितरुपमा अनुगमन गरी अवश्यक सुझाव र सहयोग गर्ने प्रदिवद्धता जनाए । प्लान इन्टरनेशनल नेपाल र राइजिङ आइडल्स बाँकेको साझेदारीमा सञ्चालित तालिममा नारायणप्रसाद थारु प्रशिक्षक रहेको संस्थाका कार्यक्रम संयोजक बिष्णुप्रसाद अधिकारीले बताए ।