दाङ उपत्यकामा मन्त्रालय निर्माणको काम तीव्र

सदरलाइन संवाददाता ८ पुष २०७९, शुक्रबार १२:३३
 

दाङ : लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका दाङ देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्थापनासँगै अन्य मन्त्रालयहरू निर्माण तथा कार्यालय स्थापनाको काम तीव्र गतिमा भइरहेको छ । अस्थायी मुकाम बुटवलमा रहेका मन्त्रालयहरू राप्ती उपत्यका सार्न थालिएको छ । १३ वटा मन्त्रालयहरूमध्ये छवटा प्रदेश राजधानी परिसरभित्र स्थापना हुने क्रममा छन् । बाँकी सात मन्त्रालय परिसरबाहिरका सरकारी भवनमा स्थापना हुनेछन् ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छविराज पोख्रेलका अनुसार मुख्यमन्त्रीको कार्यालय स्थापना भएसँगै परिसरभित्र छवटा मन्त्रालय रहनेछन् । बाँकी मन्त्रालय बाहिर रहनेछन् । अस्थायी मुकाम बुटवलमा रहेका मन्त्रालय तथा कार्यालयका सामान ओसार्ने काम जारी छ । मन्त्रालयको बोर्ड टाङ्ने, कार्यालय भवन तयार पार्ने, फर्निचरका सामान मिलाउने काम तीव्र गतिमा भइरहेको छ ।

मुख्यमन्त्री कार्यालय परिसरभित्र पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, वन वातावरण तथा भूसंरक्षण मन्त्रालय स्थापना गरिएका छन् ।


अबको एक महिनाभित्र उक्त मन्त्रालयले नियमित रूपमा सेवा सञ्चालन गर्ने जनाइएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भालुबाङ, कृषि तथा भूमि व्यवस्था मन्त्रालय वडा नं. २ को कार्यालयमा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र श्रम तथा यातायात मन्त्रालय राप्ती गाउँपालिकाको कार्यालयमा स्थापना गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालय राप्ती गाउँपालिका वडा नं. ८ को कार्यालय, स्वास्थ्य मन्त्रालय वडा नं. ५ को कार्यालयमा र ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय लमही नगरपालिका वडा नं. १ स्थित छात्रावासमा स्थापना गरिएको छ ।

शिक्षा मन्त्रालयका उपसचिव थानेश्वर ज्ञवालीले राजधानी कार्यान्वयनका लागि मन्त्रालयहरू स्थापना हुने क्रम जारी रहेको बताए । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले मन्त्रालयका लागि भवनहरू आवश्यकताअनुसार उपलब्ध गराइएको बताए ।

सहकारी दर्ता अधिकारीको कार्यालय, शिक्षा तथा सामाजिक विकास निर्देशनालय, स्वास्थ्य निर्देशनालय, प्रदेश योजना आयोगको कार्यालय र मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापना गरिएका छन् । प्रदेश लेखा नियन्त्रकको कार्यालय राप्ती गाउँपालिका कार्यालयमा स्थापना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जाजरकोटमा यस वर्ष ३३ करोडको सुन्तला उत्पादन

८ पुष २०७९, शुक्रबार १२:३३
जाजरकोट : जाजरकोटमा यस वर्ष ३३ करोड रुपैयाँ भन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्षको तुलनामा १६ प्रतिशत उत्पादन बढेको जिल्लामा ३३ करोड भन्दा बढीको सुन्तला उत्पादन भएको हो । पराम्परागत खेती प्रणालीलाई किसानहरुले बर्षेनी परिवर्तन गर्न थालेका छन् । धान, मकैं, गहुँ खेती जस्ता अन्न बाली उत्पादन […]