सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकाले माध्यामिक तहका छात्रालाई साईकल वितरण शुरु गरेको छ । गाउँपालिकामा रहेका तीन माविका ५५ जना छात्रालाई यस आर्थिक बर्षमा साईकल सहयोग गरिँदैछ ।
शनिवार पहिलोपटक महेन्द्र मावि मटेहियाका २४ जना छात्रालाई साईकल हस्तान्तरण गरिएको छ । कक्षा ९ र १० मा अध्ययन गर्ने सम्पूर्ण छात्रालाई साईकल सहयोग गरिएको हो ।
यसैगरी आदर्श मावि लक्ष्मणपुरका कक्षा ८, ९ र १० मा अध्ययनरत छात्रा तथा जय किसन मावि भोजपुरमा कक्षा १० मा अध्ययन गर्ने सम्पूर्ण छात्राहरुलाई साईकल हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह लगायतले छात्रालाई साईकल हस्तान्तरण गरेका थिए ।
