सदरलाइनडटकम,
काठमाण्डौ : आइसीसी महिला टी–२० विश्वकपअन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपालले तेस्रो जीत हात पारेको छ । आइतवार भएको खेलमा नेपालले हङकङलाई चार विकेटले हराएको हो । टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धाति ओभर खेल्दै ८ विकेट गुमाएर ६२ रन बनायो ।
नेपालका लागि नेरी थापाले सर्वा्धिक ६ विकेट लिन सफल भइन् । व्यक्तिगत ४ ओभरको स्पेलमा नेरीले ८ रन खर्चिएर ६ विकेट हात पारेकी हुन् । योसँगै नेपालबाट टी–२० क्रिकेटमा ५ भन्दा बढी विकेट लिने पहिलो खेलाडी बन्न सफल भइन् । यसअघिको प्रतियोगितामा ४ विकेट लिएकी थिइन् । आजको खेलमा नेरीले नेपालले लिएका शुरुआतका ६ वटै विकेट लिएकी हुन् । बाँकी २ विकेट सिता रानामगरले लिइन् ।
नेरीले पहिलो विकेट हङकङले २३ रन बनाएका बेला बेला पोनलाई आउट गरिन् । बेलालाई ११ रन बनाएका बेला रुविना क्षेत्रीको हातबाट क्याच आउट गराइन । यसरी नेपाललाई पहिलो सफलता दिलाएकी नेरीले दोस्रो विकेटको रुपमा नेरीले यी सान टुलाई खातानै खोल्न नदिई पेभेलियन पठाउन सफल भइन् । तेस्रो विकेटको रुपमा नेरीले हङकङका लागि १६ रन बनाइएकी यस्मिन दसवानीलाई आउट गरिन् । राम्रो सुरुआत गरेको हङकङ ३१ रन बनाउँदा ४ विकेट गुमाएको थियो ।
चौथो विकेटको रुपमा नेरीले क्यारी चानलाई आउट गर्न सफल भइन् । पाँचौ विकेटको रुपमा कप्तान मारिको हिललाई आउट गरिन् । योसँगै नेरी नेपालबाट टी–२० क्रिकेटमा पाँच विकेट लिने पहिलो क्रिकेट खेलाडी बन्न पनि सफल भइन् । यतिमा नेरीको विकेट लिने यात्रा रोकिएन । उनले छैटौं बिकेट पनि लिन सफल भइन् । उनले जस्मिन टिटमसलाई छैठौं विकेटको रुपमा शिकार गरेकी थिइन् । नेरीले स्पेल सक्दा ३६ रन बनाएको हङकङले पछि २६ रन थपेको थियो ।
सातौं विकेटको रुपमा सिता राना मगरले १९ रन बनाएकी मरिनालाई आउट गरेकी थिइन् । आठौ विकेट अन्तिम ओभरको अन्तिम बलमा जेनिफर डेभिइसलाई हङकङले गुमाएको थियो । उक्त विकेट पनि सिताले लिन सफल भइन् । जवाफमा नेपालले १८ ओभर ३ बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालको जितमा अप्सरा बेगमले २४ तथा सरिता मगरले अविजीत रन बनाइन । त्यसो त नेपालले सुरुवात राम्रो गर्न सकेन ।
५ रनमा पहिलो विकेट गुमाएको नेपालले ६ रनमा दोस्रो विकेट खेर फाल्यो । त्यसपछि १७ रनमा तेस्रो विकेट झरेको नेपालको स्कोरबोर्डमा २४ रन हुँदा चौथो विकेट गुमेको थियो । त्यसपछि ५६ रन हुँदा पाँचौ विकेट गुमाएको नेपालको स्कोर ५९ रन हुँदा ६ विकेट झरेको थियो ।