स्वास्थ्यकर्मीनै संक्रमित भएपछि कोरोना जाँच प्रभावित

सदरलाइन संवाददाता ३ माघ २०७८, सोमबार १५:५२
 

नेपालगञ्ज : हेल्थ डेस्कका स्वास्थ्यकर्मी आफैं संक्रमणको चपेटामा परेपछि नेपालगञ्जको जमुनाहा नाकामा कोरोना जाँच प्रभावित हुने जोखिम बढेको छ । नाकामा खटिएका प्रयोगशालातर्फका कर्मचारी कोरोना संक्रमित भएसँगै जनशक्ति अभाव हुन थालेको हो ।

पछिल्लो दुई हप्ता यता संक्रमितको संख्या बढ्दै गएको छ । भारतबाट आइरहेका धेरैमा संक्रमण पुष्टि हुने गरेको छ । नाकामा एन्टिजेन परीक्षणमा व्यस्त ल्याबमा काम गर्ने कर्मचारीमा धमाधम संक्रमण पुष्टि भइरहेको छ ।

उनीहरू आइसोलेसनमा बस्नुपरेपछि जनशक्ति अभाव हुँदै गएको हो । कोरोना जचाउँदा संक्रमण पुष्टि हुने भन्दै केही नाकामा लक्षण मिल्ने समस्या देखिएका कर्मचारीले आफ्नोचाहिँ जाँच नगरी काम गरिरहेको बताएका छन् ।


नेपालगञ्जको जमुनाहा नाकामा खटिएका २४ स्वास्थ्यकर्मीमध्ये १० जनालाई संक्रमण पुष्टि भइसकेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले स्ट्यान्डबाइमा कर्मचारी राख्नुपर्ने आवश्यकता औंल्याएको कोरोना फोकल पर्सन तेज वलीले बताए ।

‘बाँकी रहेका १४ जना कर्मचारीबाट पनि काम चलिरहेको छ, उनले भने–‘संक्रमितको संख्या बढ्ने र ल्याबका स्वाब संकलनकर्तामा संक्रमण देखिन थाले तत्कालै कर्मचारी आवश्यक पर्छ ।’

बैठकले स्वास्थ्य कार्यालयलाई ल्याबका कर्मचारी तयारी अवस्थामा राख्न र आवश्यकताअनुसार खटाउन भनेको भन्दै उनले स्थानीय तहका ल्याबमा रहेका जनशक्तिसमेतलाई प्रयोग गर्न मिल्ने गरी व्यवस्थापन गर्न आग्रह गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुशीला गौतमद्वारा पत्रकारिता पुरस्कार अक्षय कोष स्थापना

३ माघ २०७८, सोमबार १५:५२
नेपालगञ्ज : सुशीला गौतमद्वारा स्थापित सुर्यनाथ गौतम स्वास्थ्य (मुटु) पत्रकारिता पुरस्कारका लागि अक्षय कोषको शुभारम्भ गरिएको छ । नेपाल पत्रकार महासंघ बाँकेमा आयोजित कार्यक्रममा सुर्यनाथका छोरा एवं नेपाल पत्रकार महासंघका पुर्व सभापति नीरज गौतम र नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीबीच गरिएको सम्झौता पत्र साटासाट गरियो भने कोषका लागि […]