राउटे समुदाय विभिन्न रोगले संक्रमित

२९ पुष २०७५, आईतवार १७:३८
 

सदरलाइनडटकम,
सुर्खेत : सुर्खेतको लेकवेशी नगरपालिका १ मा बस्दै आएका राउटे समुदायका बालबालिका कुपोषण र सुकेनासबाट पीडित भएका छन् । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले राउटे बस्तीमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा लेकबेँसी–१ रातेखोलास्थित राउटे बस्तीका अधिकांश बालबालिका कुपोषित भेटिएका हुन् ।
स्वास्थ्य परीक्षणमा संलग्न डाक्टर लोकेन्द्र थापाका अनुसार बस्तीका अधिकांश बालबालिकामा विभिन्न रोगको संक्रमण देखिएको छ । एक सय ४५ जनसंख्या रहेको राउटे बस्तीमा ७४ बालबालिका छन् । उनीहरूमध्ये ५० जना बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा पूर्ण रूपमा स्वस्थ बच्चा एउटा पनि नभेटिएको डा.थापाले जानकारी दिए । बालबालिकामा पौष्टिक आहारको कमीले हुने समस्याहरू देखा परेको उनको भनाई छ ।
बालबालिकामा कुपोषण, सुकेनास, कान पाक्ने र छाला पाक्ने (लुतो)जस्ता रोगहरू देखिएको डाक्टर थापाले बताए । यस्तै, राउटे समुदायका महिलाहरूमा रगतको कमी देखिएको छ । सानो उमेरमा विवाह गर्ने, बच्चा जन्माउने तथा आइरनमा ध्यान नदिँदा महिलाहरूमा रगतको कमी देखिएको डा. थापाले बताए ।
त्यस्तै, बयस्क र वृद्धवृद्धामा पनि चोटपटक, दम र खोकीजस्ता समस्या देखिएका छन् । बस्ती नजिकै शौचालय, खाना पकाउने ठाउँ र खाना खाने विषयमा पनि जानकारी नभएकाले उनीहरूमा विभिन्न रोग देखिएको डा. थापाको भनाई छ । राउटे समुदायका लागि महिनामा कम्तीमा दुईपटक स्वास्थ्य परीक्षण गर्नुपर्ने उहाँको सुझाव छ ।
यसैबिच, राउटे बस्तीमा स्वास्थ्यकर्मी र शिक्षिका खटाइएको छ । पढ्न, लेख्न नरुचाउने र औषधिमुलोका लागि जंगली जडीबुटीको भर पर्ने राउटे बस्तीमा एकजना अहेव तथा शिक्षिका खटाइएको हो ।

Next Post

शमशानघाट निर्माणमा स्थानीय सक्रीय

२९ पुष २०७५, आईतवार १७:३८
सदरलाइनडटकम, खजुरा (बाँके) : खजुरा गाउँपालिका वडा नम्बर ४ भण्डरियास्थित किरण नालामा ब्यवस्थित शमशानघाट निर्माणका लागि स्थानीय बासिन्दाले सक्रियता देखाएका छन् । खजुरा ४ को ईगाउँ, र्पावतीपुर, भण्डरिया, चल्तुवा तथा वेजनाथ गाउँपालिकाको पलौतीपुरका बासिन्दाको बृहत भेलाले शमशानघाट निर्माणका लागि उज्जवल बिसीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति गठन गरेको छ । […]