नेपालगञ्ज : आगामी बैशाख ३०मा सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन भित्रको चुलिएको असन्तुष्ठी उम्मेदवारी मनोनयनमा छताछुल्ल भएको छ । उम्मेदवार दार्ता गर्ने दिनसम्म सत्ता गठबन्धनमा रहेका वडा अध्यक्षहरु अन्तिम समयमा आएर अर्को पार्टी परिवर्तन गरी उम्मेदवार बनेर झनै रोचक बनेको छ ।
बाँकेमा गठबन्धनका घटक मध्येका ले नेपालगञ्ज उपमहानगर र कोहलपुर नगरपालिकामा विद्रोही उम्मेदवारी दिएर यसको दरिलो जवाफ दिएका छन । नेपालगञ्जमा अघिल्लो स्थानीय तहको निर्वाचनमा दोस्रो भएकोले मेयर र पाँचौ स्थान पाएकोले उपमेयर पाएको भन्दै तेस्रो स्थानमा रहेको माअेवादी केन्द्रका तर्फबाट मेयर र उपमेयरमा विद्रोही उम्मेदवारी दर्ता गराएका छन ।
यसैगरी कोहलपुरमा नेपाली काँग्रेसले मेयरमा कनिष्ठलाई उम्मेदवार बनाएको भन्दै काँग्रेसका पुराना नेताहरूको समुहले बलराम शर्माले उम्मेदवारी दर्ता गरेका छन् । काँग्रेसले युवा नेता पूर्णप्रसाद आचार्यलाई मेयरको उम्मेदवार बनाएपछि काँग्रेसका पूराना नेता शर्माले मेयरमा उम्मेदवारी दिएका हुन् । काँग्रेसले संगिता पौडेललाई उपमेयरको उम्मेदवार बनाएको छ ।
बाँके क्षेत्र नं. १ (ख) का सभापतिसमेत रहेका पुराना नेता बलराम शर्माले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन । उनलाई २०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरका निकटतम् प्रतिद्वन्द्वी भानुभक्त भट्टराई, कोहलपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष राजेन्द्र श्रेष्ठ, फुलाराम थारु, भुमबहादुर भण्डारीलगायत स्थानीय नेताले साथ दिएका छन् ।
माओवादी केन्द्रले नेपालगञ्ज उपमहानगरमा मेयर, उपमेयर सहित २३ वटै वडामा उम्मेदवार उठाएको छ । गठबन्धनमा रहेका दलका केन्द्रीय तहका नेताले नेपालगञ्जमा तालमेल गर्ने सहमति गरे पनि माओवादी केन्द्रले मेयरमा टंक धामी र उपमेयरमा ताराकुमारी रोकायलाई उम्मेदवार बनाएको हो ।
नेपालगञ्जमा सत्ता गठबन्धनका नेपाली काँग्रेसबाट नेपालगञ्ज–१२ मा वडा अध्यक्ष जितेका बुद्धिसागर सुवेदी जसपाबाट पुन वडा अध्यक्षको उम्मेदवार भएका छन । यसैगरी माओवादी केन्द्रबाट वडा अध्यक्ष जितेका नेपालगञ्ज–१७ का अजय पाठक एमालेबाट वडा अध्यक्षको उम्मेदवार बनेका छन ।