सदरलाइनडटकम,
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्त र उनको परिवारलाई छिट्टै न्याय दिने बताएका छन् । प्रतिनिधिसभामा आइतवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सडकको भिडले नभई आफूले नेतृत्व गरेको सरकारले निर्मला तथा अन्य छोरीचेलीलाई न्याय दिने बताए ।
अन्यायमा परेका वा आपराधिक घटनाका शिकार भएका निर्मला वा अन्य छोरीचेलीलाई सडकमा पोखिने अमर्यादित तथा अराजक भिडले न्याय दिने नभई सरकारले दिने जिकिर गरे । अपराध अनुसन्धानका मामिलामा प्रहरीले ९६ प्रतिशत मुद्दामा सफलता पाएको उल्लेख गर्दै उनले केही घटना मात्रै अपवादको रुपमा रहेको बताए ।
अपवादका घटना पनि टुंगोमा पुर्याउने गरी काम भइरहेको भन्दै प्रधानमन्त्री ओलीले त्यही अपवादलाई आम घटनाको रुपमा प्रचार गर्ने र उल्लेख्य सफलतालाई ओझेल पारेर कृत्रिम परिस्थिति सिर्जना गर्ने अनुचित प्रयास गरेको प्रति आफूलाई दुःख लागेको बताए ।
