विकास होईन लोकतान्त्रिक गठबन्धनलाई जिताउने नेपालगन्जका मेयरको पहिलो प्राथामिकता

२३ कार्तिक २०७४, बिहीबार २०:२४
 

सदरलाइनडटकम    
२३ कात्तिक, नेपालगन्ज : आगामी मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि मेयर डा. धवल शम्शेर राणाले लोकतान्त्रिक गठबन्धनको लागि प्रचार अभियान तीब्र पार्ने बताएका छन् ।
लोकतान्त्रिक गठबन्धनको संयुक्त प्रचार प्रसार अभियान तथा जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालगन्ज उप–महानगरका मेयर तथा राप्रपाका महामन्त्री डा.राणाले आफ्नो पहिलो प्राथामिकता आसन्न निर्वाचनको प्रचार रहने बताए । उनले दोस्रोमा नगरपालिकाको काम हुने बताएका छन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जसरी पनि जिताउने उद्दघोष गर्दै उनले सो कुरा बताएका हुन ।
उनले भने–‘अहिले लोकतन्त्र खतरामा छ । लोकतन्त्रको संरक्षणको लागि लोकतान्त्रिक गठबन्धनले चुनाव जित्नु जरुरी छ त्यसैले निर्वाचनको अवधी भरी मेरो प्राथामिकतामा नेपालगन्ज नगरपालिका छैन । पहिला प्रचारको काम अनिमात्र नगरपालिकाको काम हेरौला ।’
उनले आफ्नो विगत सम्झदै भने–‘कुनै बेला म पनि एमालेको सदस्य थिए मैले त्यहाँ भित्र रहदा उनीहरुकोे डिक्टेटरसिप हेरेको छु । उनीहरु निर्णय सुनाउदै जबरजस्ती लाद्छन् । त्यहाँ लोकतन्त्रको कुनै भ्यालु हुँदैन त्यसैले बाध अधिनायकत्व र कम्युनिष्ठ साशन स्थापित हुन नदिन हाम्रो गठबन्धन भएको हो ।’


उनले आफ्नो राजनीतिक जीवनकाल भरी काँग्रेसलाई प्रतिद्वन्दी बनाउदै निर्वाचन लडेको भए पनि यसपटक भने फरक अनुभव हुने गरी काँग्रेस संग मिलेर एउटै गठबन्धनमा निर्वाचन लड्ने भएकोले दुबै पार्टीका अगुवा कार्यकर्ताहरुले आ–आफ्नो स्थानमा आ–आफ्नो गठबन्धनका उम्मेदवारलाई जिताउनको लागि खट्न निर्देशन समेत दिए ।


राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा राणाले बामगठबन्धन नेपाल र नेपालीहरुको प्रयासबाट नभएको दाबी गर्दै भने–‘यो प्रस्ट रुपमै उत्तरी छिमेकीको चलखेल र दवावको कारण भएको हुनुपर्छ । बिदेशीहरुले गराईदिएको यो बाम गठबन्धनका कारण लोकतन्त्र, प्रजातन्त्र र राष्ट्र बचाउनका लागि लोकतान्त्रिक गठबन्धन आवश्यक भएकोले निर्माण गरिएको हो ।’



नेपालगन्ज उप–महानगरपालिकाका मेयर समेत रहेका डा. राणाले कम्युनिष्ट राज्य भएको देशमा त्यहाँका नागरिकहरुले आफुले पाउने नैसर्गिक अधिकार पाउनबाट बंञ्चित हुने चेतावनी दिदै नेपालमा बामपन्थी गठबन्धनका नाममा राज्य कब्जा गरी नेपालमा कम्युनिष्ट साशन ल्याउने अभियानमा लागेको हुनाले लोकतान्त्रिक गठबन्धनका उम्मेदारलाई बिजय बनाई नेपाली जनताहरुको नसर्गिक अधिकारको रक्षा गर्न आग्रह गरे ।


सो अवसरमा नेपाली काँग्रेस बाँके सभापति एवम लोकतान्त्रिक गठबन्धन सयुक्त प्रचार प्रसार समिति बाँकेको संयोजक किरण कोईरालाले नेपालको समृद्धि र लोकतन्त्रलाई समाप्त पार्नका लागि बामगठबन्धन भएको बताउदैले नेपाली काँगेसले तानाशाहको साशनलाई यो मुलुकबाट समाप्त पारेको इतिहास स्मरण गर्न सुझाव दिईन । नेपाली काँग्रेसको नेतृत्वमा रहेको लोकतान्त्रिक गठबन्धनले आगामी मंसिर २१ गते बामगठबन्धनको औचित्य समाप्त पार्ने दाबी गरिन । सो कार्यक्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका बाँके अध्यक्ष नरेन्द्रकुमार पौडेलले स्वागत गरेको कार्यक्रममा सचिव रबिन थापाले लोकतान्त्रिक गठबन्धन बाँकेको अपिल बाचन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विवेकशील साझा पार्टीको उम्मेदवार परिचय

२३ कार्तिक २०७४, बिहीबार २०:२४
सदरलाइनडटकम   २३ कात्तिक, नेपालगन्ज : पत्रकार रविन्द्र मिश्र नेतृत्वको विवेकशिल साझा पार्टीले आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाँकेबाट उम्मेदवारी दिएका उम्मेदवारको परिचय गराएको छ । बाँके निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा कुशल अधिकारी, प्रदेस सभामा १ क मा ज्योति परियार, १ ख मा दयाराम […]