सदरलाइनडटकम,
नेपालगञ्ज : प्रदेश ५ मा परेको नेपालगञ्जलाई यतिबेला कर्णाली प्रदेशमा गाभ्नुपर्ने आवाज बढ्दोक्रममा छ । यहाँका उद्योगी ब्यवसायीसँगै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले पछिल्लो समय सार्वजनिक कार्यक्रमबाट कर्णाली प्रदेशमा गाभिनुपर्ने पक्षमा वकालत गर्ने गरेका छन् ।
यहाँका अधिकाँश उद्योगी र ब्यवसायीहरु यतिबेला खुलेर कर्णाली प्रदेशमा गाभिनुपर्ने पक्षमा लागिरहेका छन् । पछिल्लो समय नेपालगञ्जका मेयर डा. राणाले नेपालगञ्जलाई कर्णाली प्रदेशमा गाभिनुपर्ने माग उठाउँदै आएका छन् । सक्नुहुन्छ, नेपालगञ्जलाई प्रदेशको राजधानी बनाऔं, मेयर राणाले जिल्लाका सांसदहरुलाई भनेका छन, – होइन भने विकल्पका लागि तयार हौऔं । नेपालगञ्जको ऐतिहासिक सम्बन्ध साविक मध्य र सुदुरपश्चिमका पहाडी जिल्लासँग रहेको भन्दै मेयर राणाले प्रदेश राजधानी पुग्न संघीय राजधानी भन्दा कठिनाई हुने गरेको बताए ।
नेपालगञ्जमा रहेका सरकारी कार्यालयहरु एकपछि अर्को गर्दै सारिएपछि यतिबेला बाँकेबासी प्रदेश ५ आफुहरुका लागि नोक्सानी भएको बताउन थालेका छन् । आरक्षणको हिसावले पनि यहाँका मधेसी, मुस्लिम र थारु समुदायले कर्णालीबाट बढि फाईदा लिन सक्ने मेयर राणाको भनाई छ । संवैधानिक व्यवस्था अनुसार कर्णाली प्रदेशमा गाभिन कठिनाई भएपनि नेपालगञ्जबासीले पहलकदमी लिनुपर्ने डा. राणाको भनाई छ ।
आर्थिक नगरी नेपालगञ्जको अधिकाँश ब्यापार ब्यवसाय कर्णाली प्रदेशका जिल्लामा हुने भएका कारण यहाँका अधिकाँश ब्यापारी प्रदेश ५ भन्दा कर्णाली प्रदेश उपयुक्त भएको बताउन थालेका छन् ।