न्यायालयको सेवाबारे डुडुवामा न्यायिक संवाद

२१ मंसिर २०७५, शुक्रबार १८:३४
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : कानून तथा न्यायिक प्रक्रियाबारे उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका विभिन्न सेवा सुबिधाका बारेमा जानकारी गराइएको छ । डुडुवा गाउँपालिकामा न्यायमा बाह्य पहुँच कार्यक्रमअन्तर्गत शुक्रवार न्यायिक संबाद कार्यक्रम गरिएको हो ।
अदालतको सेवा सुविधा, प्रक्रियाबारे जानकारी गराउँदै न्याययिक टोलीले न्यायप्रति जनताका गुनासा संकलन गरेको छ । कार्यक्रममा अदालतले दिने सेवा सुविधा, प्रक्रिया, नागरिक पहुँच, उपलब्ध सेवा सुविधाप्रतिको सन्तुष्टि–असन्तुष्टि, नागरिक बडापत्रअनुसार काम भएनभएको, सेवा प्रवाहलगायतका विषयमा स्थानीयसंग अन्तरक्रिया गरेको थियो ।
उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलाशका बरिष्ठतम न्यायाधीश बिष्णुदेव पौडेलले अदालतमा न्याय सम्पादन गर्दा विभिन्न जटिलता आएको भन्दै झगडिया पक्षहरु विभिन्न प्रकृतिका हुने भएकाले न्यायिक फैसलामा बाधा पुर्याउने काम हुने गरेको बताए । उनले न्यायाधीशलाई कार्यसम्पादन गर्न सबैको भुमिका महत्वपुर्ण भएकाले मुद्दाको मिसिल तयार गर्दा घटना विवरण उल्लेख गर्नुपर्नेमा जोड दिए ।



अदालतका न्यायाधीश प्रेमराज कार्कीले अदालतले निष्पक्ष सेवा दिने भन्दै दलालबाट बचेर काम गर्न आग्रह गरे । कार्यक्रममा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँमै आएर अदालती सेवा सुविधा र न्यायिक प्रक्रियाबारे स्थानीयलाई जानकारी गराउनु प्रशंसनीय कार्य भएको बताउँदै अदालतसम्म स्थानीयको पहुँच बढाउन चेतनास्तरमा बृद्धि हुनुपर्ने र त्यसका लागि शिक्षा आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा अदालतका निमित्त रजिस्ट्रार हिरण्यप्रसाद भण्डारी, गाउँपालिका उपाध्यक्ष एवम् न्यायिक समिति संयोजक साहिदा बानो, उच्च अदालत बार एशोसिएसन नेपालगञ्जका अध्यक्ष विकास आचार्य, कानून पत्रकार समाज बाँकेका सचिव बसन्त गौतम, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र ज्ञवाली, गाउँपालिकाका कानूनी सल्लाहकार इश्वरी ज्ञवाली, प्रेस सल्लाहकार राकेशकुमार मिश्रले न्यायिक प्रक्रियाबारे धारणा राखेका थिए ।

Next Post

महिला तथा पुरुष बृद्धिचाल छनौट सम्पन्न

२१ मंसिर २०७५, शुक्रबार १८:३४
सदरलाइनडटकम, नेपालगञ्ज  : आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी बाँकेमा छनौट खेल सुरु भएको छ । यस क्रममा बुद्धिचाल खेलको छनौट प्रतियोगिता सम्पन्न भएको हाे । बिहीबारदेखि सुरु भएको बुद्धिचाल खेलमा पुरुष तर्फबाट तिर्थ विक, जगतलाल तुलाधर र धनराम ओली क्रमश प्रथम, द्वितिय र तृतिय भएका छन् । यस्तै महिला तर्फबाट […]