सदरलाइनडटकम,
नेपालगञ्ज : कात्तिक शुक्ल पूर्णिमाका दिन शुक्रवार बाँकेको राप्ती नदीस्थित विभिन्न घाटमा मेला लागेको छ । नदीमा नुहाउनका लागि भक्तजनहरुको बिहीवार बेलुकीदेखिनै राप्ती नदीका घाटहरुमा घुईंचो लागेको थियो ।
शुक्रवार विहान ३ बजेदेखिनै स्नान गरी दान दिने र पूजाआजा गर्नेको ठूलो भीड लागेको थियो । कतिपयले स्नान गरी नदी छेउमा गौदानसमेत गर्ने गर्दछन् । गौदान गरे मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ ।
यसैबीच कात्तिक शुक्ल पूर्णिमाका अवसरमा राप्तीको सिधनिया घाट, जानकी गाउँपालिका वडा नं. २ जोगागाउँ र वडा नं. ५ गुरुवा गाउँमा विशेष मेला लागेको छ । जोगागाउँ र गुरुवा गाउँमा लागेको मेला पाँच दिनसम्म चल्छ । मेलामा राती साँस्कृतिक कार्यक्रमसमेत हुने गरेको जानकी वडा नं. २ का सचिव लल्लुराम पाण्डेले बताए ।
