संविधान स्पष्ट छ, चुनाव धकेल्न खोज्नु असंवैधानिक काम हो – कानुनविद् भट्टराई

सदरलाइन संवाददाता १५ माघ २०७८, शनिबार १९:३१
 

काठमाडौं :  कानुनविद्हरुले वैशाखभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको बताएका छन । कानुनविद् टिकाराम भट्टराई र सुनिल पोखरेलले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल पाँच वर्ष हुने कुरा संविधानमै व्यवस्था गरेकाले स्थानीय तहको निर्वाचन पर धकेल्ने काम गर्न नहुने तर्क गरेका हुन ।

प्रेस चौंतारी नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल बार एशोसिएशनका पूर्वउपाध्यक्ष समेत रहेका भट्टराईले पहिलो चरणमा सम्पन्न भएको निर्वाचनलाई आधार मानेर स्थानीय तहको निर्वाचन हुने अन्तर्राष्ट्रिय मान्यता रहेको पनि स्मरण गराए ।


उनले स्थानीय तह पदाधिकारीविहीन हुने परिकल्पना संविधानले नगरेको स्पष्ट पार्दै भने, ‘संविधानको धारा २२५ मा पहिलो नगरसभा र गाउँसभाको कार्यकाल पाँच वर्षको हुनेछ भन्यो । त्यसको सुरुवात पहिलो चरणको निर्वाचनबाटै गणना हुने अन्तर्राष्ट्रिय मान्यता पनि छ । इन्डियामा पनि लोकसभाको निर्वाचन नौं चरणमा भएको थियो । तर, त्यसको कार्यकाल पहिलो चरणको निर्वाचनलाई आधार मानेर बनाइएको थियो ।’

नेपाल बार एसोसिएशनका पूर्वमहासचिव पोखरेलले जेठ ५ गते भित्रै स्थानीय तहको निर्वाचन सम्पन्न हुनुपर्ने संविधानमा किटानी व्यवस्था भएको बताए । उनले स्थानीय तहको निर्वाचन समयमै नभए स्थानीय तह जनप्रतिनिविहीन हुने अवस्था आउनेतर्फ पनि सचेत गराए ।

अधिवक्ता पोखरेलले भने, ‘संविधानको धारा २१५ र २१६ मा स्थानीय तहको कार्यकाल पाँच वर्षको हुने व्यवस्था गरिएको छ । त्यो भनेको पाँच वर्ष एक दिन हुँदैन । त्यसैले संविधानले किटान गरेको पाँच वर्ष भित्र स्थानीय तहको निर्वाचन हुनुपर्छ । यति जेठ ५ गतेभित्र स्थानीय तहको निर्वाचन नभए स्थानीय तह जनप्रतिनिधिविहीन हुन्छ ।’ महासचिव पोखरेलले दलहरुले संविधान र कानुन विपरित भएर स्थानीय तहको निर्वाचन सार्न नमिल्ने तर्क राखे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइँदै

१५ माघ २०७८, शनिबार १९:३१
आज सहिद दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले लैनचौर पुगेर सहिदहरूलाई श्रद्धाञ्जली दिएका छन्। सहिद दिवसका अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा प्रजातन्त्र र लोकतान्त्रिक शासन व्यवस्थाको स्थापनाका लागि आफ्नो अमूल्य जीवन गुमाएका सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति आज श्रद्धाञ्जली अर्पण गरेका हुन्। मुलुकमा राजनीतिक परिवर्तन, नागरिक स्वतन्त्रता र विधिको शासन स्थापना […]