सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा फैलिएको आगो अलिहेसम्मकै घातक बनेको छ । आगोमा परी ज्यान गुमाएका थप १३ जनाको शवको अवशेष उत्तरी क्यालीफोर्नियामा भेटेपछि यो डढेलो राज्यको इतिहासकै सबैभन्दा घातक बनेको हो ।
आगोमा परि हालसम्म ज्यान गुमाउनेको संख्या ४४ पुगेको अमेरिकी समाचार संस्था सीएनएनले जनाएको छ । यसअघि सन् १९३३ मा लस एञ्जल्सको एउटा पार्कमा आगलागी हुँदा ३३ जनाको मृत्यु भएको थियो । यसपटक क्यालिफोर्नियाका तीन ठाउँबाट आगो फैलिएको छ । अहिलेसम्म २ लाख ५० हजारभन्दा बढी मानिस विस्थापित भएका छन् ।
तीव्र गतिमा चलेको हावाका कारण आगो नियन्त्रण गर्न कठिनाई भइरहेको त्यहाँको प्रशासनले जनाएको छ । क्षति बढ्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्नियालाई मुख्य प्रकोपग्रस्त क्षेत्र घोषणा गरेका छन् ।
(एजेन्सीको सहयोगमा)
