सदरलाइनडटकम,
दैलेख : प्रहरी र जुवाडेहरुबीच झडप हुँदा दैलेखमा प्रहरी निरीक्षकसहित दुईजना प्रहरी घाइते भएका छन् । दुल्लु नगरपालिका ७ कृर्ति खम्बमा शुक्रवार राति जुवा खेलिरहेका जुवाडेको समूह र प्रहरीबीच झडप भएको हो ।
सूचनाका आधारमा दुल्लु प्रहरी प्रमुख बजिरसिंह बिष्टको नेतृत्वमा सात जना प्रहरीको टोली जुवा खालमा गएको थिए । प्रहरीले जुवा खेल्न नपाइने भन्दै जुवाडेलाई धपाउन खोज्दा जुवाडेले प्रहरीमाथि नै ढुंगा मुढा गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले बताए ।
प्रहरीले आत्मरक्षाका लागि घटनास्थलमा तीन राउण्ड हवाई फायरसमेत गरेको उनले बताए । घटनामा घाइते भएका प्रहरी निरीक्षक बजिरसिंह बिष्टको टाउकोमा चार टाँका लगाइएको छ । साथै प्रहरी सहायक निरीक्षक शुजनकुमार खड्काको टाउकोमा गम्भीर चोट लागेको छ । घटनाबारे अनुसन्धान गरी दोषीमाथि कारबाही गरिने उनले जानकारी दिए ।
