सदरलाइन / सपना विष्ट
नेपालगञ्ज : ५ नं. प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेपालगञ्जको विकासको लागि प्रदेश सरकार हर क्षेत्रमा सहयोग गर्न तयार रहेको बताएका छन् । नेपालगञ्ज उप–महानगरको वडा नं. ८ मा रहेको रानी तलाउको पुन निर्माण गरी जलविहारको लागि उद्दघाटन गर्दै सो कुरा बताएका हुन ।
उनले नेपालगञ्जको ऐतहासिक रानीतलाउको दोस्रो पटक पुननिर्माण गरी आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउन उप–महानगरले प्रयत्न गरे आफुले विश्वास लिएको कुरामा जोड दिदै भने–‘ नेपालगञ्ज छिमेकी मुलुक भारतको ट्रन्जिट प्वाईंट शहरको रुपमा रहेको र भारतको सबै थलमार्ग नेपालगञ्जसँग जोडिएको छ । एतिहासिक नगरी नेपालगञ्ज आधुनिक बजारको साथै पर्यटकिय गन्तब्यको रुपमा विकसित गर्न प्रदेश सरकार तत्तपर छ ।’
उनले ‘हाम्रो नेपालगञ्ज राम्रो नेपालगञ्ज’को अवधारण लिएर अघि बढ्न उप–महानगरपालिकालाई सुझाव दिँदै मुख्यमन्त्री पोखरेलले नेपालगञ्ज विमान स्थलबाट भारतको दिल्ली उडान र नेपालगञ्ज क्षेत्रमा मानसरोवरको प्रति निर्माण गर्नको लागि प्रदेशबाट पहल भएको औल्याए ।
मुख्यमन्त्री पोख्रेलले पुनर्निर्मित रानीतलाउको उद्घाटन गरेपछि पुनः दोश्रो पटक जलविहारको शुरुवात भएको छ । उनले नेपालगञ्जको बतावरण र सरसफाईको क्षेत्रमा सुधार गर्नको लागि प्रदेश सरकार तयार रहेको बताउदै नेपालगञ्ज नगरको समग्र सरसफाई तथा हरियाली बढाउन प्रस्ताव आए सहयोग गर्नको लागि प्रदेश सरकार तयार रहेको बताए । उनले भने–‘नेपालगञ्जको हरियाली बढाउनको लागि उप–महानगरले प्रस्ताव ल्याएमा सहयोगको लागि प्रदेश तत्तपर छ ।’
नेपालगञ्ज उप–महानगरपालिकाका मेयर डा. धवल शम्शेर राणाको अध्यक्षतामा भएको कार्यक्रममा संघिय सांसद पूर्ण कुमारी सुवेदी, महेश्वर गहतराज, प्रदेश सांसद् आईपी खरेल, जिल्ला विकास समन्वय समितिका संयोजक अजय श्रीवास्तव, राजनीतिक दलका प्रतिनिधीबाट नेकपका नेता अशोक कोईरालाले सम्बोधन गरेका थिए ।
२२ लाख ७८ हजार लागतमा रानी तलाउको पुनर्निर्माण गरिएको हो । डा. राणा पहिलो पटक मेयर हुँदा २०५५ सालमा जीर्ण रहेको पोखरी रानीतलाउको जीर्णोद्धार गरि नौका विहार सञ्चालन गरिएको थियो ।