राती दश बजेपछि भैलो खेल्न नपाइने

२० कार्तिक २०७५, मंगलवार १८:५८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : हिन्दु धर्मावलम्बीहरुको दोश्रो ठूलो पर्व दीपावली एवं छठलाई मर्यादित तथा अनुसाशितरुपमा मनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले सबैसँग आग्रह गरेको छ ।
मनोरञ्जनको नाममा जुवा खेल्ने खेलाउने, आतिशबाजी गर्ने, पटका, रकेट, भुइचम्पा जस्ता विष्फोटकजन्य एवं प्रज्वलनशील बस्तुहरु पडकाएको पाइएमा कारबाही गरिने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
उक्त कार्य गर्दा सामाजिक जनजीवन र व्यक्तिको स्वास्थ्यमा समेत प्रतिकूल असर पार्नुका साथै यसबाट सामाजिक विकृती बढ्ने, दुर्घटना र आगजनी जस्ता घटना हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले ऐन २०२८ को दफा ६(३) अनुसार त्यस्ता कार्य नगर्न नगराउन सूचना जारी गरेको छ ।
देउसी भैलोमा स्वेच्छाले रकम दिएको बाहेक जबरजस्ती रकम माग गर्ने र दबाव दिने कार्य नगर्न नगराउन प्रशासनले आग्रह गरेको छ । देउसी भैलोलगायतका साँस्कृतिक कार्यक्रम राती १० बजेपछि गर्न नपाइने सूचनामा उल्लेख छ ।
मादक पदार्थलगायत मनउत्तेजक पदार्थ सेवन गरी सार्वजनिक स्थानमा होहल्ला गरी शान्ति सुरक्षा विथोल्ने काम कारबाही गरेमा प्रचलित कानूनबमोजिम कारबाही हुने बाँके प्रशासनले जनाएको छ ।
यता हिन्दु धर्मावलम्बीहरुले भने तिहार आफ्नो दोश्रो ठूलो पर्व भएकोले परम्परागत रुपले मनाउन पाउनु पर्ने माग गरेका छन् । अन्य धर्मावलम्बीलाई रातभरी चाडपर्व मनाउन दिने प्रशासनले आफुहरुको पर्वमा समयसीमा तोक्नु गलत भएको स्थानीय समुदायले बताएको छ ।
परापूर्वकालदेखिनै देउसी भैलो खेल्दै आईरहेकोले परम्परागतरुपमा नै खेल्न पाउनु पर्ने नाम नलेख्ने शर्तमा एक जनाले बताए ।
देउसी भैलोको नाममा दबावमा पारी जबरजस्ती रकम असुल्नु गलत भएको भन्दै उनले तिहारमा रातभरी खेल्ने देउसी भैलोमा प्रशासनले समय सीमा तोक्नु धर्ममाथि अंकुश लगाउने सरह भएको आरोप टिप्पणी गरे ।

Next Post

नेपालगञ्जको रानीतलाउमा पुनः डुंङा विहार सञ्चालनमा

२० कार्तिक २०७५, मंगलवार १८:५८
सदरलाइनडटकम नेपालगञ्ज : नेपालगञ्जको रानीतलाउमा १९ वर्षपछि पुन डुङा सहित जलविहारको सुरुवात भएको छ । पाँच नंम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले मंगलबार एक कार्यक्रमका बीच रिवन काटेर उद्दघाटन गरेका हुन । हाल ४–५ वटा डुङा राखेर सञ्चालनमा ल्याईएको रानीतलाउको डुङा विहार कुनै बेला निक्कै चर्चित रहेको थियो । उद्दघाटन सत्रमा […]