सदरलाइनडटकम,
काठमाण्डौ : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकार अपराधीलाई संरक्षण गर्न लागिपरेको आरोप लगाएका छन् । तरुण दलको ६५औं स्थापना दिवसका अवसरमा शनिवार सानेपामा आयोजित कार्यक्रममा सभापति देउवाले अपराधीलाई कारवाही गर्नको सट्टा सरकारले संरक्षण गरेको बताए ।
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा संलग्नलाई उम्काउने कोशिस सरकारले गरेको देउवाको दाबी थियो । बलात्कार जस्तो जघन्य अपराधमा संलग्न कुनै पनि व्यक्ति राजनीतिक संरक्षणमा उम्कन नहुने भन्दै उनले काँग्रेसले त्यसविरुद्ध निरन्तर खबरदारी गर्ने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले मुलुकमा हत्या हिंसाका घटना बढ्दै गएको र अपराधीलाई संरक्षण गर्ने सरकारको कार्यशैलीले दण्डहिनता बढाएको दाबीसमेत गरे । विभिन्न कालखण्डमा मुलुकमा भएका राजनीतिक परिवर्तनमा तरुण दलको विशेष योगदान रहेको स्मरण गर्दै सभापति देउवाले भावी दिनमा पनि देशको जिम्मेवारी काँधमा लिन तयार रहन निर्देशन दिए ।