बाँकेमा आफ्नो पक्षमा माहोल बन्दै गएको एमाले–राप्रपा गठबन्धनको दाबी

सदरलाइन संवाददाता २७ कार्तिक २०७९, आईतवार १०:०३
 

 

नेपालगञ्ज : आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा बाँकेमा नेकपा एमाले र राप्रपाबीचको तालमेलले दुवै पार्टीका उम्मेदवारहरु आफ्नो पक्षमा माहोल बन्दै गएको दाबी गरेका छन् ।

सत्ता गठबन्धनभित्र आन्तरिक किचलो बढ्दै गएकोले पनि जिल्लाका तीन वटै प्रतिनिधि सभा र ६ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एमाले–राप्रपा तालमेलको उत्साहपूर्ण माहोल बन्दै गएको उनीहरुको दाबी छ ।

सत्ता गठबन्धनमा बाँके क्षेत्रनं. १ मा माओवादी नेता अमर खड्का चुनावको मुखैमा जसपा प्रवेश गरी उम्मेदवार बनेको कारणले बाँके क्षेत्र नं.१ मा एमाले र राप्रपाका तीनै जना उम्मेदवारको जित सुनिश्चित भएको हो ।

बाँके क्षेत्र नं. २ मा प्रदेशसभातर्फ सत्ता गठबन्धन एकआपसमै निर्वाचन भिडेको अवस्थामा नेकपा एमालेका प्रदेशसभा सदस्य उम्मेदवार बिजयबहादुर यादव र निरक गुरुङको पक्षमा जनमत देखिएको बताईएको छ ।

यसैगरी प्रतिनिधिसभामा प्रतिष्पर्धी भनिएका जसपाका इस्तियाक राई भन्दा राप्रपाका उम्मेदवार डा. धवलशम्शेर राणाको अवस्था क्रमिक रुपले उकालो लाग्दै गएकोले आफुहरु जितको नजिक रहेको एमाले–राप्रपा गठबन्धनको निर्वाचन प्रचार सचिवालयले जनाएको छ ।


क्षेत्र नं. ३ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आन्तरिक कलहका कारण एमालेको निर्वाचन माहोल दैनिक रुपमा राम्रो बन्दै गएको छ । प्रदेश क मा आफ्नै उम्मेदवार आईपी खरेलविरुद्ध माओवादीले स्वतन्त्र उम्मेदवार दलबहादुर सुनारलाई आधिकारिक उम्मेदवार बनाएपछि माओवादीभित्र ठूलो लडाई रहेको छ भने प्रतिनिधिसभामा बर्दियाका नेता किशोरसिंह राठौरलाई बाँकेमा टिकट दिएको र प्रदेश ख मा बादशाह कुर्मीलाई उम्मेदवार बनाएकोमा कांग्रेसभित्र ठूलो असन्तुष्टि रहेको छ ।

माओवादी उम्मेदवार हराउन माओवादी र कांग्रेस उम्मेदवार हराउन कांग्रेस नै लागिरहेकोले क्षेत्र नं. ३ मा एमालेका तीनैजना उम्मेदवारको पक्षमा जनमत रहेको दाबी छ ।

नेकपा एमालेका केन्द्रीय सदस्य बाँके इन्चार्ज एवम् बाँके क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सूर्य ढकालले राप्रपासँगको चुनावी तालमेलसँगै अहिले नयाँ इतिहास रच्ने अवर प्राप्त भएको बताउछन ।

उनले राष्ट्रिय स्वाधीनतासँग जोडिएको यसपटकको निर्वाचनमा नेकपा एमालेलाई पहिलो शक्तिको रूपमा स्थापित गर्न सबैलाई सक्रिय र क्रियाशिलपूर्वक लाग्न जोड दिए ।

एमाले केन्द्रीय सदस्य शान्ति ढकाल, दिपा शर्मा, पशुपतिदयाल मिश्राले एमाले र राप्रपाको चुनावी तालमेलले दुवै पार्टीका सबै उम्मेदवारले जित्ने आधार तय भएको दावी गर्दै एमाले नभेटेको व्यक्ति र नपुगेको कुनै घर नहुने बाताबरण बनाउन उम्मेदवारलाई अपिल गर्दै विकास र समृद्धिको सवालमा बाँकेका मुद्दा राष्ट्रिय रूपमा स्थापित गर्ने अभिभारा काँधमा आएको धारणा ब्यक्त गरे ।

पार्टी केन्द्रीय अनुशासन आयोगका सदस्य एवम् जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक देवराज भारले नेकपा एमाले र राप्रपासँगको तालमेलले बाँकेमा नयाँ तरङग ल्याएको दावी गरे । नेता भारले एमाले र राप्रपासँगको तालमेलले परमादेशी सरकार सञ्चालन गरेका पार्टी र तिनका उम्मेदवार अत्तालिसकेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके क्षेत्रनं. २ मा स्वतन्त्र उम्मेदवार इरफान शेषले गरे शक्ति प्रदर्शन

२७ कार्तिक २०७९, आईतवार १०:०३
नेपालगञ्ज :  आगामी मंसिर ४मा हुने निर्वाचनमा बाँकेको क्षेत्र नं. २ बाटप्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार इरफान शेष र क्षेत्र नं. २ (क) बाट प्रदेशसभा सदस्य पदका स्वतन्त्र उम्मेदवार अब्दुल कादिर साईले आफ्ना क्षेत्रमा चुनावी अभियानलाई तिब्र बनाउदै संयुक्त रुपमा बृहत ¥याली सहित शक्ति प्रदर्शन गरेका छन । नेपालगञ्जको रामलिला […]