सदरलाइनडटकम,
काठमाण्डौ : श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले राजनीतिक संकटकाबीच शनिवार संसद निलम्बन गरेका छन् । प्रधानमन्त्री परिवर्तन गरेको र मन्त्रिपरिषद विघटन गरेको भोलीपल्ट राष्ट्रपति सिरिसेनाले संसद पनि निलम्बन गरेका हुन् ।
संसदका उच्च अधिकारीले आगामी नोभेम्बर १६ तारिखसम्मका लागि राष्ट्रपतिले संसद निलम्बन गरेको पुष्टि गरेका छन् । शुक्रवार बेलुका अपदस्थ गरिएका प्रधानमन्त्री रनिल विक्रमासिंघेले संसदको आपत्कालीन बैठक बोलाउन माग गरिरहेका बेला राष्ट्रपतिले संसदनै निलम्बन गरिदिएका हुन् ।
संसदमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै विक्रमासिंघेले बहुमत पुष्टि गरेर देखाउने बताएका थिए । उनले संसदमा आफ्नो पक्षमा बहुमत भएकाले राष्ट्रपतिले आफुलाई हटाउन नमिल्ने दाबीसमेत गरेका छन् ।
संसदमा आगामी आर्थिक वर्षका लागि नोभेम्बर ५ तारिखमा वार्षिक बजेट पेश गर्ने कार्यक्रम थियो । बजेट पेश गर्न नमिल्नेगरी संसद निलम्बन भएकाले श्रीलंकामा अब आर्थिक संकटसमेत आउने जानकारहरु बताउँछन् ।
राष्ट्रपति सिरिसेनाको सत्तारुढ दललेनै मौजुदा गठबन्धन सरकार छाड्ने निर्णय गरेपछि उनले प्रधानमन्त्री परिवर्तन गरेको अन्तर्राष्ट्रीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
(एजेन्सीको सहयोगमा)