राप्तीसोनारीको पाँचौ गाउँसभामा सुरु, नीति तथा कार्यक्रम प्रस्तुत

९ असार २०७६, सोमबार २०:०९
 

सदरलाइनडटकम,
राप्तीसोनारी (बाँके ) : राप्तीसोनारी गाउँपालिकाको पाँचौ गाउँसभा सुरु भएको छ । गाउपालिकाले आर्थिक वर्ष २०७६/०७७ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा सोमबार बसेको पाँचौं गाउँसभामा उपाध्यक्ष धनीकुमारी खत्रीले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन ।
गाउँपालिकाले आर्थिक विकासतर्फ वर्षभरी यातायात सञ्चालन हुने स्तरका सडक निर्माण, मर्मत गर्न जीर्ण सडक, कल्भर्ट पुलपुलेसालाई मर्मत सम्भार गर्ने नीति अगाडी सारेको छ ।
चालु आर्थिक वर्षमा गाउँपालिकाभित्रका सडकको वर्तमान अवस्थाको पहिचान गर्न सडक सञ्जाल गुरुयोजना तयार गरी भौतिक निर्माण अन्तर्गत साना स्थानीय सडक ग्राभेल गर्ने, नाला निर्माण गर्ने एवं स्तरोन्नती भईसकेका सडक पिच गर्ने नीति लिइने उल्लेख गरिएको छ ।योजनावद्ध र वातावरणमैत्री पुर्वाधारः दिगो विकासको पहिलो आधार भन्ने नारालाई मुर्त रुप दिन रणनीतिक महत्वका सडक र क्रमागत आयोजनालाई उच्च प्राथमिकता दिई वातावरणमैत्री संरचना निर्माणमा जोड दिइनेछ ।
आफ्नै भवन नभएका वडा कार्यालयको भवन निर्माण र अधुरा भवनलाई प्राथमिकतामा राखी सबै वडाबाट आफ्नै कार्यालय भवन बनाउन गाउँपालिकाले जोड दिएको छ । वर्षभरी सडक अवरुद्ध हुन नदिन नियमित तथा आकस्मिक मर्मतका लागि आवश्यक रकम ब्यवस्था गर्ने नीति लिइएको छ ।
राप्ती नदी, झिझरी खोला, मुगुवा, मोरङ्गा लगायतका नदीको कटान नियन्त्रण गर्न साना तथा मझौला तटबन्ध लगायतका कार्यक्रमहरुलाई कार्यान्वयनमा लगिनेछ । ठुला प्रकोप ब्यवस्थापन परियोजनालाई नेपाल सरकार वा अन्य दातृ निकायसँग सहकार्यमा निर्माण गर्ने नीति अंगिकार गरिने उल्लेख छ ।

Next Post

९ असार २०७६, सोमबार २०:०९