सदरलाइनडटकम,
सुर्खेत : बसबाट खसेर सुर्खेतमा एकजनाको मृत्यु भएको छ । चलिरहेको बसबाट खसेर भेरीगंगा नगरपालिका १२ सुर्खेतका ५० वर्षीय पदम बस्नेतको मृत्यु भएको हो ।
सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको ना ४ ख ७०२४ नम्बरको बसको ढोकामा झुण्डिएर यात्रा गरिरहेका बस्नेत सोही दिशाबाट आएको लु १ ख ४६०२ नम्बरको ट्रकले उछिन्ने क्रममा उनी ढोकाबाट खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले बताए ।
टाउकोमा गम्भीर चोट लागेका बस्नेतको उपचारका क्रममा मृत्यु भएको उनले जानकारी दिए । क्षेत्रीय अस्पताल सुर्खेतमा भर्ना गरिएपनि यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक चौधरीले बताए । बस तथा ट्रक चालक दुबैलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
