राष्ट्रसंघमा प्रधानमन्त्री ओलीले गरे अमेरिकाको आलोचना

१२ आश्विन २०७५, शुक्रबार १३:५९
 

सदरलाइनडटकम,
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको एकपक्षीय नीतिप्रति असहमति जनाएका छन् । संयुक्त राष्ट्रसंघको ७३ औं महासभालाई बिहीवार राति सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकपक्षीय नीतिको विपक्षमा उभिएको जानकारी गराएका हुन् ।
उनले बहुपक्षीय सद्भाव विश्वको आवश्यकता रहेको बताए । नेपालले तीनवटै तहको निर्वाचनपछि प्राप्त गरेका राजनीतिक उपलब्धिबारे पहिलो पटक विश्व फोरममा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले वार्ता, आपसी सद्भावका कारण शान्तिप्रक्रिया सफल भएको जानकारी गराए । प्रधानमन्त्री ओलीले बिम्स्टेक र सार्कले क्षेत्रीय विकासमा सहयोगी हुने बताए ।
त्यस्तै ओलीले आतंकवादको सँधै विपक्षमा रहेको बताउँदै विना शत्रुता, सबैसँग मित्रताको पक्षमा नेपाली परराष्ट्र नीति रहेको प्रधानमन्त्रीको भनाई थियो । उनले स्वतन्त्रताको लडाइँमा रहेका यमन, सिरिया, प्यालेस्टाइनका जनताको मागको सुनुवाइ हुनुपर्ने बताए ।
नेपालको संविधान लोकतन्त्र, स्वतन्त्रता, शक्तिको बाँडफाँड, स्वतन्त्र न्यायालय, आवधिक चुनावलगायतका विषयमा स्पष्ट रहेको भन्दै प्रधानमन्त्री ओलीले नेपालमा ४१ प्रतिशत महिला निर्वाचित जनप्रतिनिधि भएको र अझै ९ प्रतिशतले सहभागिता बढाउन सरकार प्रतिबद्ध रहेको जानकारी गराए ।
(एजेन्सी)

Next Post

प्रदेश ७ को राजधानी माग्दै डोटी अनिश्चितकालीन बन्द

१२ आश्विन २०७५, शुक्रबार १३:५९
सदरलाइनडटकम, डोटी : प्रदेश ७ को राजधानीको माग गर्दै डोटीमा शुक्रवारदेखि अनिश्चितकालीन बन्द आव्हान गरिएको छ । साविकको क्षेत्रीय सदरमुकाम रहेको दिपायलमा राजधानी बनाउन माग गर्दै संघर्ष समितिले अनिश्चितकालीन डोटी बन्दको आव्हान गरेको हो । प्रदेश ७ को प्रदेशसभामा प्रदेशको केन्द्र र नामको प्रस्ताव पेश भएपछि डोटीमा आन्दोलन शुरु भएको हो […]