सदरलाइनडटकम,
काठमाण्डौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सीमा क्षेत्रमा नेपालीमाथि हुँदै आएको लुटपाटलगायतका घटनाबारे भारतीय गृहमन्त्री राजनाथ सिंहको ध्यानाकर्षण गराएका छन् । भारतको नयाँ दिल्लीमा शुक्रवार दिउँसो अध्यक्ष प्रचण्ड र भारतीय गृहमन्त्री सिंहबीच भएको भेटवार्तामा उनले यस्तो ध्यानाकर्षण गराएका हुन् ।
जवाफमा गृहमन्त्री सिंहले सीमा क्षेत्रका सबै अधिकारीहरुलाई तत्कालै खबर गरी घटना हुन नदिने विश्वास दिलाए । भेटका क्रममा नेपाल भारत सम्बन्धका लागि अहिले सकारात्मक वातावरण बनेको र नेपालको आर्थिक समृद्धिमा दुबै देश मिलेर अघि बढ्नेबारेमा छलफल भएको थियो । प्रचण्डले नेपाल–भारतबीच भएको सहमति कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएका थिए ।
