सदरलाइनडटकम,
बिर्तामोड : अवैधरुपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको भारतीय रुपैयाँसहित एक नेपाली पक्राउ परेका छन् । १२ लाख ८० हजार भारतीय रुपैयाँसहित ललितपुरका रवीन्द्र बज्राचार्य सोमवार पक्राउ परेका हुन् । भारतबाट काँकडभिट्टा नाका भई नेपाल छिरेका उनलाई मेची भन्सार कार्यालयले पक्राउ गरेको हो ।
बज्राचार्यको साथबाट ५०, १०० र २०० दरका नोट बरामद भएको मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालले बताए । शंका लागेर बज्राचार्यको झोला मेसिनबाट स्क्यान गर्दा ठूलो परिमाणमा भारतीय रुपैयाँ फेला परेको उनले जानकारी दिए ।
बिहान साढे ७ बजे पक्राउ परेका बज्राचार्यलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रमुख अर्यालले बताए ।
