बाघ नियन्त्रणमा लिन लागि निकुञ्जद्वारा पहल सुरु

सदरलाइन संवाददाता २९ भाद्र २०७८, मंगलवार १९:२६
 

नेपालगञ्ज  : बाँकेको राप्ती सोनारी गाउँपालिका- १ गाभरमा पाटेबाघको आक्रमणमा परी एक जनाको ज्यान गएपछि बाँके राष्ट्रिय निकुञ्जले सो बाघ नियन्त्रणमा लिनका लागि तयारी अघि बढाएको छ ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले घटनास्थल तथा आसपासको क्षेत्रमा उच्चसर्तकता अपनाउँदै निकुञ्जबाट निरन्तर अनुगमन गर्नुका साथै बाघ नियन्त्रणमा लिनका लागि आवश्यक तयारी अघि बढाएको जानकारी दिए । मंगलबार पनि बाघ घटनास्थलभन्दा करिव एक किलोमिटर पूर्व राजमार्ग पार गरेर जंगलतर्फ लागेको एक जना मोटरसाइकल चालकलाई उद्धृत गर्दै उनले जानकारी दिए ।

उनले भने, ‘प्रभावित क्षेत्रमा दुईवटा हात्तीले गस्ती गर्नुका साथै घटनास्थल र आसपासको स्थानको पहिचान गरी क्यामेरा ट्यापिङका लागि क्यामेरासमेत जडान गरिएको छ । अब चाँडै नै परिणाम आउनेमा हामी विश्वस्त छौँ ।’

गाभरको भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका पुरुष आइतबार बेलुकीदेखि एक्कासि हराएपछि उनको खोजी गर्दा सोमबार बिहान आधा शरीर पाटेबाघले खाएको अवस्थामा शव भेटिएको थियो ।

घटनापछि बाँके राष्ट्रिय निकुञ्जले बाघ नियन्त्रणमा लिनका लागि बर्दिया राष्ट्रिय निकुञ्ज, चितवन निकुञ्जबाट प्राविधिक टोली बोलाएर परिचालन गरी सकेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत शाहले जानकारी दिए ।


यसैबीच सो घटनापछि स्थानीय प्रशासानले निकुञ्ज क्षेत्रमा रातको समयमा साना सवारी संचालन गर्न र पैदल यात्रा गर्न रोक लगाएको छ । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको चहलपहल बढेपछि निकुञ्ज क्षेत्रमा रातको समयमा पैदल यात्री, साइकल र मोटरसाइकलमा यात्रा गर्न बाँके प्रशासनले रोक लगाएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले जारी गरेको आदेशमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत निकुञ्जको कोहलपुर-शिवखोला सडकखण्डमा साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न अर्को सूचना जारी नहुँदासम्मका लागि बन्द गरिएको उल्लेख गरिएको छ । बाँके प्रशासनले अन्य समयमा पनि निकुञ्ज क्षेत्रमा यात्रा गर्दा सचेत रहन भनेको छ ।

यसैगरी पूर्व-पश्चिम राजमार्गमा करिव ७० किलोमिटर लामो निकुञ्जको जंगल रहेकाले बाघले राजमार्गमा हिँड्ने साना सवारी साधनलाई विशेष चनाखो भई हिँड्न र अगाडि ठूला सवारी साधन, पछाडि पनि ठूला सवारी साधनको बीचबाट मात्र हिँड्न मिल्ने गरी व्यवस्था मिलाएको बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

बाघले बस्तीमा पस्न सक्ने र आक्रमण गर्ने जोखिम रहेकाले आमनागरिकको सुरक्षाका लागि निकुञ्जमा तैनाथ अर्जुन बाण गणका सुरक्षाकर्मी, नेपाल प्रहरी र हात्तीसहितको प्राविधिक टोलीबाट नियमित रूपमा पाटेबाघको निगरानी गरिँदै आएको निकुञ्जले जनाएको छ । न्युज कारखानाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बालश्रमिकलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण https://sadarline.com/2021/09/44397

२९ भाद्र २०७८, मंगलवार १९:२६
नेपालगञ्ज : ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा बाँके युनेस्को क्लबले नेपालगञ्ज र डुडुवाका बालश्रमिकलाई राहातस्वरुप मंगलवार खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेको छ । विश्व शिक्षाको सहयोग र नेपालगञ्ज उपमहानगरको समन्वयमा क्लबले सञ्चालन गरेको सक्रिय परियोजना अन्तर्गत घट्ना व्यवस्थापन गरिएका अति विपन्न तथा जोखिममा रहेका नेपालगञ्ज र डुडुवाका ९ […]