सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले गर्न लागेको उत्तर कोरियाको भ्रमण रद्द भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा विदेशमन्त्री पोम्पियोको भ्रमण रद्द भएको हो ।
कोरियाली प्रायद्वीपमा परमाणु हतियार नष्ट गर्ने कार्यमा कुनै प्रगति नभएको भन्दै राष्ट्रपति ट्रम्पले पोम्पियोलाई उत्तर कोरियाको प्रस्तावित भ्रमण रद्द गर्न निर्देशन दिएका थिए । विदेशमन्त्री पोम्पियो र अमेरिकी विशेष दूत स्टिफन बिगन यही साता उत्तरकोरिया जाने कार्यक्रम थियो ।
चीन तथा अमेरिकाबीच व्यापारका विषयमा उत्पन्न तनावका कारण उत्तरकोरियामाथि पर्याप्त दबाब बनाउन नसकिएको राष्ट्रपति ट्रम्पले ट्वीट गरेका छन् । गत जुनमा उत्तर कोरियाली नेता किम जोङ उनसँग भएको शिखर वार्तापछि राष्ट्रपति ट्रम्पले उत्तर कोरियाबाट कुनैपनि परमाणु जोखिम नभएको बताएका थिए ।
वासिङ्टन पोस्टलाई अन्तरवार्ता दिँदै एक अमेरिकी अधिकारीले उत्तर कोरियाले नयाँ अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बनाइ राखेको बताएका थिए । संयुक्त राष्ट्रसंघको परमाणु एजेन्सीले पनि उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम नरोकेको बताएको छ ।
(एजेन्सीको सहयोगमा)