सदरलाइनडटकम,
काठमाण्डौ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको शनिवार बसेको आकस्मिक सचिवालय बैठकले अपराधीमाथि कडा कारबाही गरिने निर्णय गरेको छ । निर्मला हत्या प्रकरण छलफलबारे बसेको नेकपा बैठकले यस्तो निर्णय गरेको हो । बैठकले हत्या बलात्कारलगायत जघन्य अपराध र शान्ति सुरक्षाको अवस्थाको समीक्षा गरेको नेता नारायणकाजी श्रेष्ठले बताए ।
अपारधी जोकोहीलाई हदैसम्मको सजाय गर्न सरकारको ध्यानाकर्षण गराउँदै बैठकले शान्ति सुरक्षाप्रति गम्भीर हुन निर्णय गरेको उनको भनाई । नेकपाका दुबै अध्यक्ष एवं राजधानीमा उपलब्ध सचिवालय सदस्यहरु सहभागी बैठकले कञ्चनपुर घटनाबारे शंका लागेका जोकोहीलाई अनुसन्धानको दायरामा ल्याउने निर्णयसमेत गरेको छ ।
हत्याअभियोगमा बबिता र रोशनी पक्राउ
१३ बर्षीया बालिका निर्मला पन्तको हत्याअभियोगमा प्रहरीले दुईजना दिदी बहिनीलाई पक्राउ गरेको छ । प्रहरीले भीमदत्त नगरपालिका १८ स्थित घरबाट बबिता बम र आँचल भनिने रोशनी बमलाई शनिवार पक्राउ गरेको हो ।
विद्यालयको गृहकार्य गर्नका लागि साथी रोशनीलाई भेट्न गएपछि निर्मला बेपत्ता भएकी थिइन् । दुई तले घरमा बबिता र रोशनी मात्र बस्दै आएको र उनीहरुका अभिभवान दार्चुलामा बस्दथे । प्रहरी उपरीक्षक डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिजा दिदी बहिनीलाई भेट्न प्रायः जसो उक्त घरमा आइरहने स्थानीयबासीको भनाइ छ ।