सदरलाइनडटकम,
धनगढी : प्रदेशको नाम र स्थायी राजधानी घोषणाको विरोधमा आइतवार दोश्रो दिन पनि धनगढी बन्द गरिएको छ । सुदूरपश्चिम प्रदेशसभाको दुई तिहाइ बहुमतले शुक्रवार प्रदेशको स्थायी राजधानी गोदावरी तोकेको विरोधमा शनिवारदेखि बन्द आव्हान गरिएको हो ।
अस्थायी राजधानी रहेको धनगढीबाट अन्यत्र सारिएको भन्दै नेपाली कांग्रेसले बन्द आह्वान गरेको हो । बन्दका कारण धनगढीको जनजीवन प्रभावित भएको छ । बन्दले धनगढीबाट चल्ने लामो तथा छोटो दूरीका सवारीसाधन चल्न सकेका छैनन् ।
बजार, उद्योग कलकारखाना, विद्यालय, बैंक तथा वित्तीय संस्था ठप्प छन् । बिहान केहीबर बजार खुले र यातायातका साधन फाट्टफुट्ट चलेपनि बन्दकर्ता नारा लगाउँदै सडकमा उत्रिएपछि सबै ठप्प भएका हुन् । बन्दका कारण यात्रुको विचल्ली भएको छ । दशैंको पूर्वसन्ध्यामा भारतबाट घर फर्किएकाहरु सबैभन्दा बढी मर्कामा परेका छन् ।
