हत्यारा पक्राउ नगरेको विरोधमा महेन्द्रनगर बन्द

५ भाद्र २०७५, मंगलवार १४:२०
 

सदरलाइनडटकम,
कञ्चनपुर : १३ बर्षीया बालिका हत्या अभियुक्तलाई पक्राउ नगरेको भन्दै मंगलवार कञ्चनपुरको महेन्द्रनगर बजार बन्द गरेर प्रदर्शन गरिएको छ । भीमदत्तनगरपालिका २ की १३ बर्षिया निर्मला पन्तको हत्या आरोपीलाई प्रहरीले पक्राउ गर्न नसकेको आक्रोशित भीमदत्तनगरवासीले बजार बन्द गरेर प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका कारण महेन्द्रगनरमा तनाव उत्पन्न भएको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले तीन सेल अश्रुग्यास प्रहार गरेको छ भने दुई जनालाई नियन्त्रणमा लिएको छ । बलात्कारपछि हत्या गरेर उखुबारीमा फालिएको अवस्थामा निर्मलाको शव भेटिएको थियो ।
मानसिक सन्तुलन ठीक नभएको व्यक्तिलाई हत्याआरोपमा पक्राउ गरेपनि प्रहरीले अनुसन्धानबाट पन्छिन खोजकोले स्थानीयहरु आक्रोशित भएका छन् । हत्याअभियोगमा प्रहरीले सोमवार बेलुकी भीमदत्तनगरपालिका वडा नं. २ का ४१ बर्षीय दिलीपसिंह बिष्टलाई सार्वजनिक गरेको थियो । नक्कली व्यक्ति समातेर प्रहरी पन्छिन खोजेको भन्दै स्थानीयबासीले असली हत्याराको खोजी गर्न माग गरेका हुन् ।
यातायात ठप्प, प्रशासन घेराउ
महेन्द्रनगर बजार तनावग्रस्त भएपछि यातायातका सबै सवारी साधन ठप्प भएका छन् । जिल्ला सदरमुकाम महेन्द्रनगरबाट सञ्चालन हुने लामो तथा छोटो दुरीका सवारी साधन ठप्प भएका हुन् । स्थानीयबासिन्दाले सरकारी कार्यालयसमेत बन्द गर्न दबाव दिएका छन् । भीडलाई उग्र हुन नदिन प्रशासनले बाक्लो मात्रामा प्रहरी परिचालन गरेको छ ।
सक्कली हत्यारा खोजेर कारबाहीको माग गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर घेराउ गरेका छन् । प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै उनीहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् । मानसिक रोगीमाथि दोष लगाएर प्रशासनले झारा टार्न खोजेको स्थानीय बासिन्दाको आरोप छ ।


तस्बिर : थाहाखबर

Next Post

५ भाद्र २०७५, मंगलवार १४:२०

सम्बन्धित