जानकीको प्रमुख प्रशासकीय अधिकृतमा लोकबहादुर सुनार

३ भाद्र २०७५, आईतवार १९:५३
 

सदरलाइनडटकम, 
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर सुनारलाई आईतवार कार्यालयमा स्वागत गरिएको छ । गाउँपालिका कार्यालयमा अध्यक्ष रामनिवास यादव, उपाध्यक्ष भूमिसरा धिताल, कार्यपालिका सदस्य र कर्मचारीहरुले स्वागत गरेका थिए ।
बर्दियाको ठाकुरवावा नगरपालिकाबाट सरुवा भएर प्रमुख प्रशासकीय अधिकृत सुनार जानकी गाउँपालिकामा आएका हुन् ।
यसअघि शाखा अधिकृतस्तरको दरवन्दी रहँदै आएको प्रमुख प्रशासकीय अधिकृतमा उपसचिव स्तरको दरवन्दी सिर्जना भएपछि उपसचिव सुनार प्रमुख प्रशासकीय अधिकृतको रुपमा गाउँपालिकामा हाजिर भएका हुन् । यसअघि पित्रीभक्त गिरी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेका थिए ।
नेपालगन्ज उप–महानगरपालिकाको कार्यकारी अधिकृत भएर काम गरिसकेका सुनार कुशल प्रशासक मानिन्छन् । उनले जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय र सहकार्यका आधारमा जानकी गाउँपालिकालाई समृद्ध गाउँपालिका बनाउन लागि पर्ने बताएका छन् ।
जानकी गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतसँगै लेखा अधिकृतमा समेत अधिकृतस्तरको दरवन्दी कायम भएको छ । दिनेशसिंह ठाकुर नयाँ लेखाअधिकृतका रुपमा केही हप्तादेखि कार्यभार सम्हालेका छन् ।
मधेशी र मुस्लिम समुदायको बाहुल्यता रहेको जानकी गाउँपालिकामा ३७ हजार ८ सय ३९ जनसंख्या रहेको छ । शिक्षा, स्वास्थ्य र विकासको दृष्टिकोणले पछाडि परेको यो गाउँपालिकामा प्रदेश सरकारले मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम सञ्चालन गर्दैछ । जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले जनशक्ति स्तरवृद्धिले नियममित कामसँगै शिक्षा, स्वास्थ्य र समग्र विकासको क्षेत्रमा काम गर्न थप सहज हुने अपेक्षा गरेका छन् ।

Next Post

नेपाली क्रिकेट टोली श्रीलंका प्रस्थान, सभामुख महराद्वारा विदाई

३ भाद्र २०७५, आईतवार १९:५३
सदरलाइनडटकम, काठमाण्डौ : एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेलका लागि नेपाली क्रिकेट टोली सोमबार श्रीलंका प्रस्थान गरेको छ । नेपाली टोलीले त्यहाँ तीनवटा क्लबसँगको अभ्यास खेलपछि भाद्र ११ गते श्रीलंकाबाटै मलेशिया जानेछ । एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल भाद्र ११ देखि २२ गतेसम्म मलेशियामा हुनेछ । नेपालले पहिलो अभ्यास खेल […]