राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमै सम्पन्न गर्न सिँचाई मन्त्रीको निर्देशन

२५ श्रावण २०७४, बुधबार १८:४३
 

सदरलाइन / रुद्र सुवेदी
२५ साउन, नेपालगन्ज : नेपाल सरकारका सिँचाई मन्त्री सञ्जय गौतमले राष्ट्रिय गौरवका आयोजनाहरु निर्धारित समय मै सम्पन्न गर्नु पर्नेमा जोड दिएका छन् । उनले यी आयोजनाहरु एउटै अम्ब्रेलाबाट सञ्चालन गर्ने गरी मेघा प्रोजेक्ट तयार पार्नसमेत निर्देशन दिएका छन् ।
सुर्खेतमा निर्माणधिन भेरी–बबई डाईभर्सनको हेडवकर््स र कर्णली चिसापाानीमा निर्माण भएको रानी जमरा सिचाई आयोजनाको निरिक्षण गर्दै उनले नेपाल सरकारले राप्ती र कर्णाली नदीमा विभिन्न ४ वटा राष्ट्रिय गौरवका आयोजना सञ्चालन गरेको जानकारी दिए ।
उनले सबै आयोजना एउटै अम्ब्रेला भित्रबाट सञ्चालन हुँदा व्यवस्थापकिय खर्चमा समेत मितव्ययिता हुने र आयोजना पनि समयमै सम्पन्न हुने दाबी समेत गर्दै भने–‘ सिक्टा सिचाई आयोजना, बबई सिचाई आयोजना, भेरी–बबई डाईभर्सन र रानी जमरा सिंचाई आयोजनालाई एउटै अम्ब्रेला भित्र राखेर मेघा प्रोजेक्ट तयार पार्नको लागि आफुले आफ्ना मातहतको निकायलाई निर्देशन दिएको छु ।’
मन्त्री गौतमले आफु मन्त्री हुने वित्तिकै यस क्षेत्रमा निर्माणाधिन अवस्थामा रहेका राष्ट्रिय गौरबका आयोजनामा बढी ध्यान केन्द्रीत भएको बताउदै भने–‘ सिचाई मन्त्रालयको पदभार सम्हाल्ने बित्तिकै म सिक्टा र बबई सिचाईको निरिक्षण र अवस्थाको बारेमा बुझ्न र कार्य प्रगती निरिक्षणको लागि आएको थिए ।’ उनले आयोजना प्रमुख र महानिर्देशक लगायतलाई राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गराउनको लागि निर्देशन समेत दिदै भने–‘नीतिगत समस्या छ, पैसाको अभाव छ भने भन्नुहोस म त्यो समस्या हल गर्नको लागि पहल गर्छु प्राविधिक समस्या छ भने पनि त्यसको समाधान खोज्न सहयोगी हुने छु तर निर्माणाधिन आयोजनाको काम रोक्नु भएन समयमै सम्पन्न गारउन प¥यो ।’
उनले माथिका चारवटै आयोजनाले यस क्षेत्रको कृषिको पाटोमा ठूलो क्रान्ति ल्याउने र मुलुकलाई नै कृषिमा आत्मनिर्भर बनाउने कुरामा आफु् ढुक्क भएको बताए । उनले आयोजनाको निर्माणमा स्थानीयले पनि सहयोग गर्नुपर्ने र आयोजनाले पनि स्थानीय विकासमा केही चासो दिने बताएका थिए ।
सरकारले भेरी–बबई डाईभर्सनको लागि सुरुङ्ग खन्नको लागि टिबिएम मेसिन भारतको कलकत्ताबाट आयोजना स्थलको लागि चार कन्टेनरमा हिडिसकेको जानकारी आफुले पाएको बताउदै मन्त्री गौतमले दशै र छठको बिचबाटै मेसिनले सुरुङ्ग खन्ने कार्य सुरु हुने र करिब दुई वर्ष भित्रैमा काम सम्पन्न हुनेमा आफु विश्वस्थ रहेको बताए ।


सिँचाई सचिव रामानन्द प्रसाद यादवले राष्ट्रिय गौरबका आयोजनाका लागि आवश्यक बजेट र जनशक्तिका लागि मन्त्रालयले कुनै पनि सम्झौना नगरी माग अनुसारको जनशक्ति र बजेटको व्यवस्था गरेको जानकारी दिए । राज्यको २६ लाख हेक्टर जमिन सिचाई गर्न आवश्यक भएको ठाँउमा १४ लाख हेक्टर पनि सिचाई हुन नसकेको अवस्थामा यस्ता आयोजना प्रयोग र चासोको विषय भएको बताए ।
उनले भेरी–बबई परियोजना सरकार र मन्त्रालयको लागि पाईलोट प्रोजेक्टको रुपमा रहेको बताउदै भने–‘यो प्रोजेक्ट हाम्रा लागि पनि पाईलट प्रोजेक्ट हो यो प्रोजेक्ट सफल भएमा सुनकोशी–मरिन डाईभर्सनदेखि कालीगण्डकी–तिनाउसम्मका ७ वटा आयोजनाको भाग्य र भविश्य निर्धारण गर्ने भएकोले पनि यो हाम्रा लागि अति नै महत्वको विषय बनेको छ ।’
सिचाई विभागका महानिर्देशक राजेन्द्रप्रसाद अधिकारीले भेरी बबई डाईभर्सन सिचाई र विद्युत उत्पादन गर्ने गरी आयोजनाको डिजाईन भएकोले आफुहरुका लागि पनि नयाँ अनुभव भएको बताए । उनले यस क्षेत्रलाई सिचाईंको हब बनाउन र आवश्यक उर्जा उत्पादनको लागि समेत ठूलो मद्दत पुग्ने बताए । उनले परियोजना सम्पन्न हुँदा यसले ४८ मेगवाट विद्युत समेत उत्पादन गर्ने जानकारी दिए ।
भेरी–बबई डाईभर्सन परियोजना प्रमुख शिवकुमार बस्नेतले आयोजनाको मुख्यद्वार निर्माण गरि सकिएको बताए । उनले २७४ मिटर लामो टिबिएम मेसिनले सुरुङ्ग खन्ने जानकारी दिदै सो मेसिन सञ्चालनको लागि आवश्यक साढे चार मेगवाट उर्जाको लागि पनि व्यवस्था गरिसकेको जानकारी दिए ।
उनले भने–‘ प्रिटनेल एरेञ्जमेन्टको काम सकिएको छ । नोभेम्बर महिनाबाट टिबिएम मेसिन प्रयोग गरी टनेल खन्न सुरु गर्ने गरी तयारी गरिएको छ ।’ उनले काममा कुनै व्यावधान नभए सन २०२० सम्म टनेलको सबै काम सम्पन्न हुने बताए ।
उनले सुरुङ्ग खन्दा सृजना हुने समस्याहरु समाधानको लागि मन्त्रालय र सरकारले सकारात्मक हुँदै सहयोग गर्नु पर्ने समेत बताए । उनले राष्टगौरवका आयोजना सम्पन्न गर्दा आउने सबै असहजतालाई हल गर्नको लागि सबैको सहयोग भएमा निर्धारित समय भन्दा तीन महिना ढिलो सुरु गरेपनि समयमै काम सम्पन्न गर्ने गरी तयारी अघि बढाएको बताए ।       

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका दुई स्वास्थ्य चौकीलाई सोलार बत्ती प्रदान

२५ श्रावण २०७४, बुधबार १८:४३
सदरलाइनडटकम २६ साउन, नेपालगन्ज : बाँके युनेस्कोद्धारा संचालित मातृ शिशु, नवजात शिशु र बालस्वास्थ्य परियोजना अन्तर्गत बिहीबार बाँकेका दुई स्वास्थ्य चौकीलाई सोलार बत्ती उपकरण उपलव्ध गराएको छ । क्लबले डुडुवा गाँउपालिकाको हिरिमिनिया स्वास्थ्य चौकी र नेपालगन्ज उपमहानगरपालिका—१३ स्थित उदयपुर स्वास्थ्य चौकीलाई करिब रु तीन लाख मूल्य बराबरको सो सोलार बत्ती […]