सीमा सुरक्षा तथा अवैध निकासी पैठारी नियन्त्रण गरिने प्रतिबद्धता

सदरलाइन संवाददाता २४ कार्तिक २०८०, शुक्रबार १७:२३
 

नेपालगञ्ज : सशस्त्र प्रहरी बल, नेपाल नम्बर पाँच विन्ध्यवासिनी बाहिनीको आयोजनामा नेपाल र भारतका डीआइजीस्तरीय समन्वयात्मक सुरक्षा बैठक सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल ३० नम्बर बागेश्वरी गण बाँकेका प्रमुख एसपी रमेशविक्रम शाहीले दिनुभएको जानकारीअनुसार सशस्त्र प्रहरी बल, नेपाल नम्बर पाँच विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र भारतीय सशस्त्र सीमा बल सेक्टर हेडक्वाटर लखिमपुरखिरी तथा सेक्टर हेडक्वाटर गोरखपुरबीच डीआइजीस्तरीय काउन्टरपार्टस् सुरक्षा बैठक सम्पन्न भएको हो ।

एसपी शाहीकाअनुसार लुम्बिनी सांस्कृतिक नगरपालिकामा भएको सो बैठकमा सीमा सुरक्षा, अवैध निकासी पैठारी नियन्त्रण, सीमा स्तम्भ मर्मत सम्भार, मानव बेचविखन र अपहरण नियन्त्रण, हातहतियार तथा लागूऔषध ओसारपसार नियन्त्रणलगायतका विषयमा छलफल भएको थियो ।

उनले बैठकमा दुवै पक्षले सीमा अपराध नियन्त्रण साथै नेपाली एवं भारतीय नागरिकको सुरक्षित, सहज र मर्यादित रुपमा सीमापार आवतजावत हुनुपर्नेमा जोड दिएको बताए ।


सीमा क्षेत्रमा लक्षित दुई देशीय सुरक्षा संवेदनशीलताका विषयमा गम्भीर रुपले छलफल भएको सो बैठकमा सशस्त्र प्रहरी बल, नेपाल र भारतीय सीमा सुरक्षा बलको थप प्रभावकारी तैनाथीमा जोड, दशगजा क्षेत्र खाली गर्दै सरसफाइ र सुन्दरताका लागि दुवै देशका सुरक्षा फौजबाट संयुक्त अभियान, नेपाल र भारतका नागरिकको सुरक्षित सीमापार आवत–जावतका लागि हेल्पडेस्कहरु स्थापना गर्ने र नियमित रुपमा समन्वय एवं सहकार्य जारी राख्नेलगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट सशस्त्र प्रहरी नेपाल नम्बर पाँच विन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्रीलगायत लुम्विनी प्रदेश अन्तर्गत भारतसँग सीमा जोडिएका जिल्लाका गणका गणपतिहरु र भारतीय सीमा सुरक्षा बल सेक्टर हेडक्वाटर लखीमपुरखिरीबाट डिआइजी जेडी वशिष्ठ तथा सेक्टर हेडक्वाटर गोरखपुरबाट डिआइजी अखिलेश्वर सिंहलगायत गणका कमाण्डेन्टको समेत सहभागिता रहेको थियो ।

सो अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर पाँच विन्ध्यवासिनी बाहिनीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक गंगाराम श्रेष्ठ र भारतीय सीमा सुरक्षा बल सेक्टर हेडक्वार्टर गोरखपुरका डिआइजी अखिलेश्वर सिंहले बैठकको एजेण्डाबारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बैजनाथ ७ का २८० भूमिहीन सुकुम्बासीले पाए निस्सा

२४ कार्तिक २०८०, शुक्रबार १७:२३
नेपालगञ्ज : बाँकेका सुकुम्बासीलाई लालपूर्जा वितरण गर्नको लागि निस्सा प्रदान गर्न शुरु गरिएको छ । राष्ट्रिय भूमि आयोग जिल्ला समिति बाँकेले जिल्लाका विभिन्न स्थानीय तहमा पुगेर भूमिहीन र सुकुम्बासीलाई निस्सा दिन थालेको हो । बैजनाथ गाउँपालिकामा वडा नं ७ मा तिहारको शुभकामना आदानप्रदान कार्यक्रमका बिच २८० जनालाई निस्सा प्रदान गरिएको […]