सदरलाइनडटकम
बुटवल : प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश सरकार कमजोर र अधिकार विहीन नभएको दावी गरेका छन् । बुटवलमा आईतबार गरिएको पत्रकार भेटघाटमा उनले संविधान र कानुनले प्रदेश सरकारलाई बराबरको अधिकार दिएको बताए ।
शिक्षा, स्वास्थ्य, वन, पर्यटन, रोजगारी, विकासलगायत हरेक क्षेत्रमा केन्द्रभन्दा प्रदेशमा अधिकार र अवसर उत्तिकै रहेको भन्दै मुख्यमन्त्री पोखरेलले संघियता विरोधहरुले संविधानले प्रदेशलाई दिएको अधिकारको सूची नपढी कमजोर र अधिकारविहीन भनेर भ्रम फैलाएको आरोप लगाए ।
कर्मचारी प्रशासनको अहिलेको मानसिकता काठमाडौं केन्द्रित भएपनि अबको दुई वर्षपछि केन्द्रभन्दा प्रदेशमा अवसर हुने भएकोले मोफसलमा आउनका लागि होडबाजी गर्ने अवस्था आउने मुख्यमन्त्रीले दावी गरे ।
संघीयता कार्यान्वयनमा भएसंगै कर बढ्यो भनेर आलोचना भइरहेको भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेश ५ को हकमा कुनै पनि करको दर नबढाइएको र कतिपय करहरु हटाइएकाले भ्रममा नपर्न आग्रह गरे ।