बाँकेमा ८ वटा स्थानीय तहको प्रस्ताव

३ आश्विन २०७३, सोमबार १२:०६
 

नामाकरणमा स्थानीयले विरोध जनाउदै सच्याउन माग

सदरलाइनडटकमimages
३ असोज, नेपालगन्ज : बाँकेका राजनीतिक दलहरुले आफुहरुको बीचमा लामो बहस र छलफलगरी अन्ततः ८ वटा स्थानीय तहमा सहमति जनाउदै टुंग्याएका छन् । जिल्ला तहमा भएको पटक–पटकको सर्वदलिय÷सर्वपक्षिय छलफलमा सहमतिको आधार खोज्दै ८ वटा स्थानीय तहमा सहमति जनाएका हुन् ।
गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित वा स्वायत क्षेत्रको संख्या तथा सीमा निर्धारण आयोगले दिएको म्याण्डेड भन्दा दुई वटा स्थानीय संरचना थप गरेर ८ वटा स्थानीय तह बनाउने टुङ्गो लगाउन बहुमतले सहमति जनाएका थिए ।
बाँकेका स्थानीय विकास अधिकारी जिवलाल भुसालले दिएको जानकारी अनुसार आयोगले बाँकेमा अधिकत्तम ६ वटा स्थानीय तह निर्धारण गर्न परिपत्र गरेको भएपनि २ वटा नगरपालिका र ६ वटा गाउँपालिका, नेपालगन्ज उप–महानगरपालिका र कोहलपुर नगरपालिका नाम र केन्द्र समेतको टुङ्गो लगाइएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाबाट इन्द्रपुरलाई काटिएको छ । हिरमिनिया गाविस थप गरिएको छ । उप–महानगरपालिकाबाट काटिएको इन्द्रपुर, साईगाउँ, बेलभार, बेलहरी र गनापुरलाई समेटेर जानकी गाउँपालिका बनाउने निर्णय भएको छ । जानकी गाउँपालिकाको केन्द्र हालको खजुराखुर्द गाविसको बाबाकुटीमा राख्ने निर्णय भएको छ ।
उता, कोहलपुर नगरपालिकामा शम्शेरगन्ज गाविस थप गर्ने निर्णय भएको स्थानीय विकास अधिकारी भुसालले जानकारी दिए ।
यस्तै, राप्तीपारीका कटकुइँया, लक्ष्मणपुर, नरैनापुर, कालाफाँटा, मटेहिया र गंगापुरलाई समेटर नरैनापुर गाउँपालिका बनाउने निर्णय भएको छ । सो गाउँपालिकाको केन्द्र नरैनापुरमा नै राख्ने सहमति भएको छ ।
फत्तेपुर, बिनौना, बैजापुर, खासकुस्मा, कचनापुर, महादेवपुरीलाई समेटेर राप्ती–सोनारी गाउँपालिका बनाइने भएको छ । जसको केन्द्र अगैयामा रहने छ । चिसापानी, नौबस्ता, वनकटुवा र टिटिहिरियालाई जोडेर अरनीको गाउँपालिका बनाउने निर्णय भएको छ । जसको केन्द्र बनकटवा रहने छ ।
रनियापुर, सोनपुर, उढरापुर, बागेश्वरी, सीतापुर र राधापुर जोडेर अमर गाउँपालिका बनाउने सहमति भएको छ । जसको केन्द्र शन्तकुटीमा राखिने भएको छ । कम्दी, वेतहनी, होलिया र वनकट्टीलाई समेटर डुडुवा गाउँपालिका प्रस्ताव गरिएको छ । सो गाउँपालिकाको केन्द्र वेतहनीमा राखिने भएको छ ।
स्थानीय विकास अधिकारी भुसालले अधिकत्तम सहमतिमा ८ वटा स्थानीय तहको टुङ्गो लगाएको बताए । वैद्य माओवादी र राष्ट्रिय जनमोर्चाले ९ वटा बनाउनु पर्ने अडान राखेको थिए । नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा नेपाल, राप्रपा लगायतका दलले ८ वटामा सहमति जनाएका छन् ।
स्थानीय विकास अधिकारी भुुसालले भने, ‘वैद्य माओवादी र राजमोको ९ वटा हुनुपर्छ भन्ने थियो, अरु सबै दलले ८ वटामा सहमति जनाएका छन् ।’ उनले मधेस केन्द्रीतदलहरु केन्द्रीय कार्यक्रम अनुसार पुनर्र्संरचनाको बहसमा सहभागी नभएकोले निर्णय प्रक्रियामा सहभागी नभएको बताए । मधेसवादी दलसँग अनौपचारिक परामर्श भने भइरहेको उनले बताए ।
उनले वडा र कलस्टरको बारेमा टुङ्गो लगाएर प्राविधिक समितिले आयोगलाई सिफारिस गर्ने सहमति भएको बताए । प्राविधिक समितिका संयोजक समेत रहेका स्थानीय विकास अधिकारी भुसालले भने, ‘राजनीतिक सहमतिका आधारमा ८ वटा स्थानीय तहको टुङ्गो लगाइयो, वडाको किटान गरि कलस्टरको बारे छलफल गरि २ हप्ताभित्र सिफारिस गर्छौँ ।’ उनले बाँकेका सांसदहरुसँग समेत स्थानीय तहको बारेमा छलफल गरिने बताए ।
सेवा प्रभावकारी बनाउन आयोगले तोके भन्दा बढि पठाउनु परेको उनले बताए । बढि संरचना बनाएर पठाएका ललितपुर र अछामको सिफारिस आयोगले फिर्ता गरिदिएकोले केन्द्रीय रुपमा राजनीतिक सहमति भएपछि मात्रै प्राविधिक समितिले आयोगमा पठाउने मनस्थिति बनाएको छ ।
यसैबीच गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित वा स्वायत क्षेत्रको संख्या तथा सीमा निर्धारण आयोगले दिएको म्याण्डेडलाई नाघेर गाउपालिकाको नामाकरण गरिएको स्थानीयले आक्रोश व्यक्त गरेका छन् । बाँकेका गाउपालिकाको नामाकरण गर्दा अमर, अरनिको र जानकी गाउपालिक राखिदा केही त्रुटी भएकोले स्थानीय तहबाट असंतुष्टि आएकोले नामको सन्र्दभमा पुनः विचार गरिने एमाले बाँकेका सचिव रत्न खत्रीले जानकारी दिए ।


जातिय कलस्टर मिलाएर तह निर्धारण गरेको राजनीतिक दलको दवी

 नेकपा एमाले बाँकेका सचिव रत्न खत्रीले एमाले ६ तहको पक्षमा रहेपनि सवै दलको मनसाय बुझेर ८ तहमा सहमति जनाएको बताए । उनले आयोगले नै त्रुटीपूर्ण निर्णय गरेर पठाएको बताए । उनले ५० हजार जनसंख्याको आधारमा स्थानीय तह बनाउने हो भने बाँकेमा ७ तह हुने बताए । ‘जनसंख्याको आधारमा बाँकेमा ७ तह हुने कुरा राखेपछि आयोग कन्भिन्स भएको छ,’ सचिव खत्रीले भने, ‘हामीले एक तहमात्र बढि पठाएका छौँ, त्यो पनि बाँकेको हकमा सकारात्मक नै मान्नु पर्छ ।’
उनले गाविस र नगरपालिकाको संरचना मिलाउने क्रममा गाविस यताउता परेको बताए । बेलभार, साइँगाउँ र गनापुरको भूगोल मिलाउन इन्द्रपुरलाई नेपालगन्जबाट झिकेको बताए । यो नै अन्तिम प्रस्ताव भएकोले यहि निर्णयलाई केन्द्रमा पठाउने बताए ।
माओवादी केन्द्र बाँकेका संयोजक आइपी खरेलले माओवादी केन्द्र ११ तहको अडानमा रहेपनि सवै दलको मागलाई समेट्न ८ तहमा सहमति जनाएको बताए । ‘११ तह हुँदा स्थानीयलाई बढि सहजता हुन्थ्यो, तर पछिल्लो प्रस्तावमा पनि समुदाय, भूगोल र भाषा भाषी मिलेको छ,’ उनले भने, ‘जातजातिको कलस्टर समेत मिलेको छ ।’
उनले फत्तेपुर, बिनौना, बैजापुर, महादेवपुरी, खासकुश्मा र कचनापुर मिलाएर बनाएको गाउँपालिकामा थारु समुदायको बाहुल्यता भएको बताउँदै नौवस्ता, चिसापानी, बनकटवा र टिटिहिरियालाई मिसाएर बनाएको गाउँपालिका पनि थारुकै बाहुल्यता भएको बताए । उनका अनुसार पूरै गाउँपालिकामा थारुको बाहुल्यता नभएपनि वडामा थारुकै बाहुल्यता हुने दावी गरे ।
राजनीतिक दलहरुले इन्द्रपुर, साईगाउँ, बेलभार, बेलहरी र गनापुरलाई मधेसी कलस्टर बनाएका छन् भने, कटकुइँया, लक्ष्मणपुर, नरैनापुर, कालाफाँटा, मटेहिया र गंगापुरलाई समेटर नरैनापुरलाई पनि मधेसी कलस्टरका रुपमा स्थापित गरेको दावी प्रस्तुत गरेका छन् । कम्दी, वेतहनी, होलिया र वनकट्टीलाई समेटर प्रस्ताव गरिएको डुडुवा गाउँपालिकालाई पनि मधेसी कलस्टर भित्रै पारेको माओवादी केन्द्रका संयोजक खरेलले बताए ।
नेपाली काँग्रेसले पनि ९ भन्दा बढि तह हुनुपर्ने अडान राख्दै आएको थियो । सवै दलले आ–आफ्नो अडान नछोडे सहमति नहुने भएकोले पहिलेको अडान छोडेको नेपाली काँग्रेस बाँकेका सचिव तप्त पौडेलले बताए । उनले ८ वटा तहमा सहमति भएपनि उक्त तह सवैलाई सुहाउँदो र मिलेको बताए । ‘हामीले भूगोल, भाषा, समुदाय र संस्कृतिलाई हेरेर तह निर्धारण गरेका छौँ,’ सचिव पौडेलले भने ।
बाँकेमा ८ वटा स्थानीय तहमा सहमति भएपनि राष्ट्रिय जनमोर्चा र बैद्य माओवादीले भने असहमति जनाउँदै निर्णयमा नोटअफडिसेन्ट लेखेका छन् । कुनै गाउँपालिकालाई गाउँपालिका, नगरपालिका, विशेष, संरक्षित वा स्वायत क्षेत्रको संख्या तथा सीमा निर्धारण आयोगले तोकेको मापदण्ड लाग्ने र कुनै गाविसलाई नलाग्ने निर्णय राजनीतिक दलले गरेका कारण आफूहरुले निर्णयमा नोटअफडिसेन्ट लेखेको राष्ट्रिय जनमोर्चा बाँकेका अध्यक्ष गौरीकुमार कार्कीले बताए ।
उनले आफ्नो पार्टीले १० वटा स्थानीय तहको प्रस्ताव प्राविधिक समितिलाई दिएकोमा ९ तहसम्ममा सहमति जनाउन सकिने भएपनि केहि राजनीतिक दलले निर्णय प्रक्रियामा आफ्नो कुरा लादेको बताए ।
यसअघि भएको ९ वटा स्थानीय तहमा आफूहरुको सहमति रहेको बताउँदै उनले भने, ‘कुनै गाउँपालिका ३० हजारको हुने कुनै ८५ हजारको हुन नहुने भन्ने हाम्रो मान्यता हो ।’ उनले जहाँका समुदाय मिलेर बसेका छन् त्यहि अनुरुप तह निर्धारण गर्नुपर्ने बताए ।
बैजापुर, फत्तेपुर र बिनौनालाई समेटेर एउटा गाउँपालिका बनाउने अडानमा राजमो छ । त्यसैगरी, कचनापुर, खासकुश्मा र महादेपुरीलाई जोडेर अर्को तथा उढरापुर, सोनपुर र रनियापुरलाई समेटेर गाउँपालिका बनाउनु पर्ने अडानमा राजमोको रहेको कार्कीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा राजधानी कायम गर्न चरण बद्ध आन्दोलनका कार्यक्रम

३ आश्विन २०७३, सोमबार १२:०६
सदरलाइनडटकम ५ असोज, नेपालगन्ज: संघिय संरचनामा प्रदेश नं ५ को राजधानी बाँकेमा र उच्च न्यायालय नेपालगन्जमा कायम गराउनको लागि दवाव दिन निर्माण गरिएको संघर्ष समितिले आफ्नो चरणबद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । जिल्लाका विभिन्न राजनीतिक दल, नागरिक समाज, व्यावसायी पेशाकर्मी, सञ्चारकर्मी लगायतको सहभागितामा एमाले बा“केका सचिव रत्न खत्रीको संयोजकत्वमा […]