सदरलाइनडटकम,
रौतहट (गौर) : रौतहटस्थित लालबकैया नदीमा शनिबार बेलुकी भएको डुंगा दुर्घटनामा हराएका पाँच जनामध्ये दुई जनाको शव भेटिएको छ । अझै तीन जना बेपत्ता छन् । ईशनाथ नगरपालिका औरैयाकी ४० वर्षीया रूना देवी र ५० वर्षीया शान्तिदेबीको शव भारतस्थित बेल्वाघाट नदी किनारमा भेटिएको हो ।
औरयाबाट सदरमुकाम गौरतर्फ आउने क्रममा नदीमा पानीको स्तर बढेपछि निर्माणाधीन पुलको स्तम्भमा ठोक्किएर डुंगा दुर्घटनामा परेको थियो । त्यसमा २५ जना सवार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
स्थानीयको सहयोगमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी आईतबार बिहानैदेखि बेपत्ताहरुको खोजी गरिरहेका छन् । डुंगाका सहचालक गौर ४ का ओमप्रकाश चन्द्रवंशी, इन्दु देवी र १० वर्षीया किशोरी उषाकुमारी पटेल अझै बेपत्ता रहेको प्रहरीले बताएको छ ।


