कर्णाली प्रदेशका चिकित्सकद्वारा आन्दोलनको घोषणा

३१ असार २०७५, आईतवार १९:०८
 

सुर्खेत- १६ दिनदेखि जुम्लामा अनशनरत डा. गोविन्द केसीको समर्थनमा मंगलबारदेखि कर्णाली प्रदेशका सबै स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सेवा बन्द हुने भएका छन् । नेपाल चिकित्सक संघले कर्णालीका १० वटै जिल्लामा इमरजेन्सी बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ। ‘डा. केसीका जायज माग पूरा गराउन कर्णालीका १० वटै जिल्लामा इमरजेन्सी वाहेकका सेवा ठप्प पार्ने निर्णय गरेका हौं’ संघका जुम्ला अध्यक्ष डा. मंगल रावलले भने, ‘कर्णालीमा अनशनरत डा. केसीको जीवन रक्षाका लागि जस्तोसुकै आन्दोलन गर्न पनि हामी तयार छौं।’

आमहड्ताल अघि संघले सोमबार कर्णाली प्रदेश सरकारका मन्त्रीहरुसँग डा. केसीका मागका विषयमा छलफल गर्ने जनाएको छ भने साँझ वीरेन्द्रनगरमा मैनवत्ती जुलुस निकालिने छ । संघले डा. केसीको मागमा राजनीतिक रंग मिलाउन खोजिएको भन्दै आपत्ती समेत जनाएको छ । ‘डा. केसी राजनीतिक चरित्र भएको व्यक्ति होइन्, उहाँ मेडिकल शिक्षाको सुधारका लागि अनशनरत हुनुहुन्छ’ चौथो अनशनदेखि डा. केसीको साथमा रहेका रावलले भने, ‘यसमा राजनीतिक रंग मिसाइनु अपराध हो ।’

उनले डा. केसी अघिल्लो अनशनमै जुम्ला आउन खोजे पनि आफूहरुले रोकेको बताए । डा. रावलले भने, ‘यो पटक जुम्लामै अनसन बस्नु भएको छ, उहाँको जीवन रक्षा हाम्रो पहिलो दायित्व र कर्तव्य हो ।’ उनले १६ दिनदेखि अनशन बस्दासम्म पनि सरकारले वार्ता टोली सम्म गठन नगर्नु डा. केसीलाई मार्ने षड्यन्त्र भएको आरोप लगाए।


नेपाल चिकित्सक संघ सुर्खेतका अध्यक्ष डा. नवराज केसीले सरकारको दायित्वभित्र पर्ने विषयहरु नै डा. केसीले उठान गरेको बताए । ‘गुणस्तरीय मेडिकल शिक्षा र सेवा सबै नागरिकहरुको अधिकार हो’ उनले भने, ‘यस्ता माग पूरा नगरेर सरकार माफियातर्फको जालोमा फसेको छ ।’ उनले बाध्यताले आकस्मिक बाहेकका सेवा बन्द गर्नुपर्ने अवस्था आएको भन्दै सबैलाई साथ र सहयोग गरिदिन आग्रह गरे।

मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल कालागाउँमा मेडिकल सुपरिटेण्डेन्ट डा. डम्वर खड्काले जायज मागहरु राखेर अनशनरत डा. केसीलाई जनप्रतिनिधि र सरकारले हाँसोको पात्र बनाएको भन्दै आक्रोश पोखे।

नागरिकबाट

Next Post

गोरेको भाई दुबईमा पक्राउ

३१ असार २०७५, आईतवार १९:०८
काठमाडौं – ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेति ‘गोरे’का भाई रमेश उप्रेति दुवइ प्रहरीको नियन्त्रणमा रहेका छन्। नेपाल प्रहरीले उनको हुलिया पठाइ दुवइ प्रहरीसँग पक्राउका लागि अनुरोध गरी पठाएपछि उनलाई दुवइ प्रहरीले नियन्त्रणमा लिएको हो । ३३ किलो सुन तस्करी तथा सनम शाक्य […]

सम्बन्धित