नेपालगञ्ज : गत माघ १६ गते कक्षा ९ मा अध्ययनरत एक बालिका एसइइ परीक्षा फारम भर्न विद्यालय गएको बेला बलात्कार गर्न खोजेका नेपालगञ्ज वडा नं.४ घोसीटोलका २० वर्षीय जुनेद हलवाईलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रधान कार्यालय काठमाण्डौ, उत्तरप्रदेश पुलिसको एसटिएफ र जिल्ला प्रहरी बाँकेका प्रवक्ता सुभाष खड्काको नेतृत्वमा गएको टोलीले फरार अपराधी जुनेद हलवाईलाई मंगलवार राती पक्राउ गरेको स्रोतले बताएको छ ।
फागुन २ गतेदेखि फरार हलवाईलाई लखनऊबाट प्रहरी सुरक्षा निकायका एसटिएफलाई समन्वय गरी, प्रहरी प्रधान कार्यालय काठमाण्डौ र बाँके प्रहरी प्रवक्ता डिएसपी खड्काको कमाण्डमा पक्राउ गर्न सफल भएको बताएको छ ।
हलवाईले १६ वर्षीया किशोरीलाई बसपार्कस्थित एक होटेलमा चाकु देखाई डर–धाक लगाई जबरजस्ती करणी प्रयास गरेका थिए ।
पीडित किशोरीले प्रतिकार गरेपछि पिडक हलवाईले ज्यानै मार्ने उद्देश्यका साथ किशोरीलाई डोरीले घाँटी कसेर बेहोस हुँदासम्म लात्ती, मुक्का, जुत्ताले कुटपिट गरेको पीडितकी आमाले बताएकी थिईन ।
पीडितकी आमाका अनुसार छोरी होसमा आएर होटल कै रुमबाट चिच्याएपछि होटलवालाले थाहा पाएर उद्धार गरी अस्पताल पुर्याएका थिए । केही समयको आकस्मिक उपचारपछि उनलाई नेपालगञ्जको एक सेल्टर होम संस्था मार्फत हालसम्म राखिएको छ ।
घटना जानकारी भएलगत्तै पीडितकी आमाले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता गर्न गएको जानकारी गराउँदै माघ २५ गतेका दिन प्रहरीद्वारा किटानी जाहेरी दर्ता गराएकी थिईन ।
‘बलात्कार प्रयास गर्दा किशोरीले नमानेपछि घाँटी च्यापी, डोरीले बाँधेर, लात्ती–मुक्काले हानेर बेहोस बनाए,’ पीडितकी आमाले भनिन्,– ‘मुख, नाक, कान, घाँटी, आँखा लगायत शरीरको अंगहरुमा गहिरो चोट लागेको र रगत निस्केको घटना स्मरण गर्दै रुंदै बताईन् ।’
पीडितकी आमाका अनुसार छोरीसित भएको एक थान मोबाईल, आठ आना बराबर कानमा लगाएको सुनको झुम्का, ४ तोला बराबर हातमा लगाउने चाँदीको ब्रासलेट लगायतका सामान समेत पिडक हलवाईले लगेको बताईन् ।
सोही घटना बारे विगतदेखि हालसम्म विभिन्न संघसंस्थाहरुले सम्बन्धित प्रहरी प्रशासनको ध्यानाकर्षण गराउँदै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानालाई भेटन डेलिगेशन गएको थियो भने नेपालगञ्जको त्रिभुवन चौकमा हप्तौदिनसम्म कारवाही मागका लागि प्रदर्शन समेत गरिएको थियो ।
त्यस्तै अपराधी पक्राउ गर्न सामाजिक संघ संस्थाहरुले जिल्ला प्रशासन प्रमुखलाई ज्ञापनपत्र समेत बुझाएका थिए । त्यसलगत्तै विभिन्न विद्यालयहरुबाट अपराधी पक्राउ गर्न सडक नाटक, महिला हिंसा बन्द गरौं, जस्तो कार्यहरु गर्दै आएका थिए ।