बाँकेका स्वास्थ्यकर्मीले पाँच महिनादेखि तलब नपाएको गुनासो

८ असार २०७५, शुक्रबार ०९:००
 

सदरलाइनडटकम  
नेपालगन्ज : बाँकेका विभिन्न पालिकामा खटेका स्वास्थ्यकर्मीहरुले गत माघ–फागुनदेखि तलब भत्ता नपाएको गुनासो गरेका छन् । राप्ती सोनारी गाउपालिकाका स्वास्थ्य संयोजक विष्णुप्रसाद चुँदालीले गत कात्तिकदेखि नै माग गरेर पठाएको तलब भत्ता अहिलेसम्म नआएको गुनासो गरे ।
उनले भने–‘हाम्रो पालिकामा स्वस्थ्य शाखा अन्तरगत ४३ जना स्वास्थ्यकर्मी कार्यरत हुनुहुन्छ तर, हामीले गत कात्तिकदेखि नै तलब भत्ता माग गरेर पठाएको भएपनि हालसम्म तलब भत्ता आउन सकेको छैन ।’ उनले गत माघ महिनासम्मको तलब भत्ता पाएको तर, माघदेखि चालु महिनासम्म तलब भत्ता नपाएको गुनासो गरे ।
बाँकेकै बैजनाथ गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख गणेशबहादुर थापाले पनि आफ्नो गाउपालिका अन्तरगतका स्वास्थ्यकर्मीले पनि गत माघदेखि तलव पाउन नसकेको जानकारी दिए । उनले बैजनाथ गाउपालिकामा रहेका ४० जना स्वास्थ्यकर्मीले गत माघदेखि तलव भत्ता नपाएको बताए ।
उनले भने–‘गत माघदेखि नै तलव भत्ता आएको छैन अवत गुजारा चलाउन पनि हम्मेहम्मे हुन थाल्यो ।’ उनले धेरैपटक तलब निकासाको लागि पहल गरेको तर, सुनवाई नभएको गुनासो गरे । उनले तलब भत्ता नआएर पीडि भएकै बेलामा विभिन्न अभियानको लागि खटेका स्वास्थ्यकर्मी महिला स्वयम सेविकालगायतको समेत भत्ता नआएको बताए ।
नेपालगन्ज उप–महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव गौतमले पनि आफ्नो शाखाका सबै स्वास्थ्यकर्मी तथा परिचरसमेतले फागुनदेखि तलव नपाएको बताए । उनले नेपालगन्ज उप–महानगरपालिकाका २३ वटै वडामा रहेका स्वास्थ्यसंस्थामा कार्यरत ७५ जना कर्मचारीले तलब भत्ता नपाएको जानकारी दिए ।
नरैनापुर गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोईन खाँले आफ्नो पालिकाले अनेत्रबाट सोधभर्ना गर्नेगरी सबैलाई बैशाखसम्मको तलव भत्ता खुवाएको जानकारी दिए । नरैनापुरमा ६७ जना स्वास्थ्यकर्मी कार्यरत रहेका छन् ।
पाँच महिना लामो समयसम्म पनि तलब नपाउँदा घरखर्च चलाउन निक्कै हम्मेहम्मे परेको तथा बालबालिकाको विद्यालय भर्नामा समेत असर पुगेको उनीहरुको भनाई रहेको छ । उनीहरुले एकै स्वरमा भने–‘भिटामिन ए खुवाउने कार्यक्रमको फिल्ड भत्ता तथा स्वयमसेविका भत्ता समेत नआएकोले असहज भएको छ । आफुले तलब नपाएको पीडा भएकै बेलामा महिला स्वास्थ्य स्वयम सेविकाहरुले भत्ता माग गर्दै पालिकामा आउदा आएको छैन भन्दै फर्काउदा फर्काउदै अवत आफैलाई लाज लाग्न थाल्यो ।’
बाँकेका जानकी र डुडुवा गाउपालिकाले भने नियमित तलब दिएको संबन्धित गाउपालिकाका स्वास्थ्य संयोजकहरुले जनाएका छन् ।
यसैबीच जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख जनस्वास्थ्य अधिकृत खिमबहादुर खड्काले गाउपालिकामा सिधै अख्तियारी जाने भएको कारण अख्तियारी जाँदा अनुमानित रुपमा गएकोले समस्या भएको तर अव केही दिनमै समस्या समाधान हुने बताए ।

Next Post

ओम प्लाईले पायो आईएसओ चिन्ह

८ असार २०७५, शुक्रबार ०९:००
सदरलाइनडटकम ८ असार, नेपालगन्ज :  नेपालगन्जको उदयपुरमा रहेको ओम प्लाई एण्ड फर्निचर प्रालिले अन्र्तराष्ट्रिय मान्यता रहने आईएसओ चिन्ह पाएको छ । आईएसओका प्रतिनिधिले शुक्रबार एक कार्यक्रमबीच सो उद्योगलाई प्रमाणपत्र हस्तान्तरण गरे । आईएसओ प्रमाणपत्रले उत्साह थपेको प्रालिका प्रबन्धक सन्चालक पशुपतिदयाल मिश्रले बताए । सम्पूर्ण मापदण्ड पुरा गरेपछि आईएसओ प्रमाणपत्र प्राप्त […]