बाँकेको डुडुवामा ६२ जनाले गरे रक्तदान

३१ जेष्ठ २०७५, बिहीबार १९:५५
 

सदरलाइनडटकम
३१ जेठ, नेपालगन्ज : विश्व रक्तदाता दिवसको अवसर पारेर बाँकेको डुडुवा गाउँपालिकाले बृहद रक्तदान कार्यक्रम आयोजना गरेको छ । गाउँपालिकाको वडानं.२ को कार्यालय बेतहानीमा गरिएको सो रक्तदान कार्यक्रममा ६२ जनाले रक्तदान गरेको गाउपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले जानकारी दिए ।
रक्तदान कार्यक्रमको उद्दघाटन गर्दैे जिल्ला समन्वय समिति बाँकेका उपसंयोजक ज्ञानेन्द्रकुमार चौधरीले ग्रामिण क्षेत्रमा रक्तदान आयोजना गर्नु मानविय सेवाको लागि भएको र यस्तो कार्यले नागरिकमा सचेतना फैलिएको दाबी गर्दै रक्तदानले अरुको जीवनदान गर्नु सरह भएको बताए ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले मानवले मानवको जीवन बचाउनु जत्तिको अरु ठूलो दान कुनै नभएको कुरामा जोड दिदै भने–‘सबैभन्दा ठूलो दान रक्तदान हो, यो दान निरन्तर गर्ने दान हो यसले अरुको ज्यान बचाएर ठूलो पुण्य कमाउने कार्य गर्दछ ।’ उनले ग्रामिण क्षेत्रका नागरिकमा रक्तदान गर्नुपर्ने सचेतना नभएर त्यसको उत्प्रेरणा जगाउन यस्तो कार्यक्रम आयोजना गउमै गरिएको बताए ।
उनले पछिल्लो समय गाउँपालिकाका बारेमा सामाजिक सञ्जालमा आएका विचारप्रति ध्यानाकर्षण गराउदै केही अफवाहरुको पछि नपर्न सत्य तथ्य बुझन आग्रह गर्दै स्थानीय सरकार आफैमा स्वयत्त रहेकाले कानून, नीति नियम र प्रक्रिया अनुसार नै अघि बढिरहेको दाबी गरे ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय उपसभापति अजितकुमार शर्मा, बाँके शाखा सभापति गोर्बद्धनसिंह सम्झना, ६ नं. वडाध्यक्ष मोहनराम मिश्र, गाउँकार्यपालिका सदस्य लिलावती यादव, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपककुमार पौडेल लगायतले बोलेका थिए ।
त्यस अवसरमा यस क्षेत्र मै पुरुषहरुका तर्फबाट सबैभन्दा बढी रक्तदान गर्ने गोपीनाथ बैश्य र महिलाहरुका तर्फबाट सरिता ज्ञवालीलाई दोसल्ला ओढाएर कदरपत्रले सम्मान गरिएको थियो । बैश्यले आजसम्म १५५ पटक रक्तदान गरेका छन् ।
रक्तदान कार्यक्रममा क्षेत्रीय रक्तसंचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी नेतृत्व ६ जनाको टोलीले प्राविधिक सहयोग गरेको कार्यक्रम संयोजक कौशलकुमार कैराँतीले जानकारी दिए ।
वडाध्यक्षद्वय गजेन्द्र कैराँती र मोहनराम मिश्र, गोपीनाथ बैश्य, सशस्त्र प्रहरी निरिक्षक गंगाराम भट्ट, गाउँपालिकाका कर्मचारी काश्ेलकुमार कैराँती, इन्जिनियर तेजराज खडका, पत्रकार पवन जायसवाल लगायत जनप्रतिनिधी, कर्मचारी, प्रहरी, युवा लगायतले रक्तदान गरेका थिए । कार्यक्रममा रक्तदान गर्नेहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।  


 

Next Post

एचआईभी एड्सको चुनौतीका लागि रणनीतिक योजना आवश्यक

३१ जेष्ठ २०७५, बिहीबार १९:५५
सदरलाइनडटकम १ असार, नेपालगन्ज : नेपालगन्ज उप–महानगरका उपप्रमुख उमा थापामगरले एचआईभी एड्स जटील स्वास्थ्य समस्यासँगैै मानवीय समवेदनासँग जोडिएकाले चुनौतीलाई सोही अनुरुप सामना गर्न दिर्घकालीन रणनीतिक योजनासहित अघि बढनुपर्ने आवश्यक्ता रहेको बताएकी छन् । उनले शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालय र नेपालगन्ज उप–महानगरको समन्वयमा जुनकीरी महिला समूह र एड्स हेल्थ केयर फाउण्डेशन […]