नेपालगञ्ज : बाँकेमा मनसुनजन्य विपदबाट नागरिकलाई जोगाउने उद्देश्यका साथ नेपालगञ्जमा बाढीको कृत्रिम घटना अभ्यास गरिएको छ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेको आयोजनामा नेपालगञ्जको वाटरपार्कमा संभावित बाढी सम्बन्धी बाढी कृत्रिम घटना अभ्यास गरिएको हो ।
मनसुन नजिकिदै गर्दा बाँकेमा मनसुन जन्य विपदबाट नागरिकलाई जोगाउने उद्देश्यले नेपालगञ्जमा बाढीको कृत्रिम घटना अभ्यास गरिएको हो । बाढी कृतिम घटना अभ्यास कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समिति संयोजक खगेन्द्रप्रसाद रिजालले कृत्रिम घटना अभ्यासले खोज तथा उद्दारमा खटिने जनशक्तिहरुको क्षमता बृद्धि हुने र जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बताए ।
मनसुन जन्य विपदबाट नागरिकलाई जोगाउनको लागि नेपालगञ्ज उपमहानगरले पनि ठोस योजना निर्माण गरी तयारी अघिबढाएको नेपालगञ्ज उपमहानगर वडानं. ६का वडा अध्यक्ष तथा विपद फोकलपर्शन समिरप्रताप सिंहले जानकारी दिए ।
जिल्ला विपद व्यवस्थापन समिति बाँकेका सुचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले मनसुन जन्य विपदबाट बाँकेमा कम्तिमा पनि २५ हजार मानिस प्रभावित हुने प्रारम्भिक आंकलन गरिए अनुसारका तयारी गरिएको बताए ।
सो कृतिम घटना अभ्यास कार्यक्रमममा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको विपद प्रतिकार्य टोलिले बाढीबाट हुने विपदबाट नागरिकलाई जोगाउने, बाढीबाट हुन सक्ने धनजनको क्षतिलाई रोक्ने र उद्दार गर्ने अभ्यास गरेका थिए ।
बाढी विपदबाट हुने सक्ने सम्भावित जनधनको क्षती कम गर्न प्रत्येक वर्ष बाँकेमा पूर्व तयारी स्वरुप बाढी विपद्को कृत्रिम घटना अभ्यास गरिदै आएको छ । कार्यक्रम नेपालगञ्ज उपमहानगरका मेयर प्रशान्त विष्टको अध्यक्षतामा भएको थियो ।