सदरलाइनडटकम
६ जेष्ठ,नेपालगन्ज : नेपालगन्ज आउँदै गरेको एउटा बस आज आईतबार दिउँसो सल्यानको सल्लीबजारमा दुर्घटना भएको छ । रुकुमको चौरजहारीबाट नेपालगन्जका लागि छुटेको बागेश्वरी यातायातको ना. ३ ख ७८७२ नम्बरको बस सल्लीबजार नजिकै रहेको अम्रा भन्ने ठाउँमा खसेको इलाका प्रहरी कार्यालय सल्लीले जानकारी दिएको छ ।
बस दुर्घटना भएको ठाउँ सल्लीबजार भन्दा तीन किलोमिटर पर पर्छ । बस भेरी नदीको बगरमा खसेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । बसमा सवार २० जना घाइते भएको र उनीहरुलाई उपचारका लागि अस्पताल लैजान लागिएको छ । घटनाको थप बिबरण आउन सकेको छैन । क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय कोहलपुरले घटनाका बिषयमा जानकारी लिने काम भइरहेको बताएका छन् । तस्बिर ः डिल्ली शाहीबाट
