सदरलाइनडटकम,
कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरमा जारी कर्फ्यू आदेश अवज्ञा गर्ने १ जनामाथि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर स्थानीय २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको छ । प्रहरीले झडप नियन्त्रण लिन बुधबार विहान ५० सेल अश्रुग्यास हानेको छ ।
स्थानीय वासिन्दाबीचको विवाद नियन्त्रणमा लिने क्रममा केही प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख, प्रहरी उपरीक्षक दीपशमशेर राणाले बताए । बुधवार साँझदेखि सुरु भएको विवादले बिहीवार विहान झन उग्ररुप लिएपछि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको छ ।
कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर र पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रमा कर्फ्यु लगाइएको छ । मूर्ति विसर्जन गर्ने क्रममा कुन बाटो हिँड्ने भन्ने विषयलाई लिएर स्थानीय दुई समुदायबीच विवाद भएको थियो ।
