सदरलाइन /शुभाकर विश्वकर्मा
२८ बैशाख, जुम्ला : जुम्ला पातारासी गाउँपालिका सवओभरसियर मानबहादुर विष्टले उपभोक्तासंग खुलेआम २० हजार घुस मागेको पाईएको छ । गाउँपालिकाको वडा नम्बर ६ मा सडक निर्माण गर्दा उर्थ ग्रामिण सडक मर्मत समितिलाई सव ओभर सियर विष्टले २० हजार रुपैया घुस मागेको पाईएको हो ।
वडा नम्बर ६ र ७ मा लागु गरिएका योजनाको उपलब्धीको बारेमा जानकारी गराउन आयोजना गरिएको सार्वजनिक सुनुवाईको क्रममा यस्तो पर्दाफास भएको हो ।
यो पातारासी गाउँपालिका वडा नम्बर ६ मा रहेको उर्थ ग्रामिण सडक मर्मत समिति मार्फत सडक निर्माण गर्दा भएको सत्य घटना हो ।
उपभोक्ता समितिका अध्यक्ष पन्नबहादुर विष्टले समिति मार्फत सडक निर्माण गर्दा समितिले गाउँपालिकाका सवओभरसियर मान बहादुर विष्टलाइ २० हजार रुपैयाको चेक काटेर दिएको सार्वजनिक सुनुवाईको क्रममा जानकारी दिए ।
उनले भने–‘सडक निर्माण को कुल लागत ५ लाख थियो, पछि गाउँपालिकाले एक लाख रुपैया थपिदा ६ लाख ४ हजार भयो । त्यो सडक योजना तीन पटक ईष्टमेट गरियो, पछि उपभोक्ता समिति मार्फत विष्टलाई २० हजार रुपैया दियौ ।’
उपभोक्ता समितिका अध्यक्ष विष्टका अनुसार सडक योजना पुसमा सकिएको बताईएको छ । सवओभरसियर विष्टलाई उपभोक्ता समिति र गाउलेको सहमतिमा २०७४ चैतको मसान्तमा उपभोक्ता समितिको चेक मार्फत रकम दिएको अध्यक्ष विष्टको भनाई छ ।
गाउँपालिका कै कर्मचारीको यस्तो क्रियाकलाप भएके भन्ने कुरा आफुले पहिलो पटक थाहा पाएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबहादुर बुढाले बताए ।
सवओभरसियर विष्ट यतिबेला जिल्ला बाहिर रहेको भन्दै जुम्ला फर्किए लगत्तै यर्थात बुझी प्रक्रियमा जाने बताए । उनले भने– ‘सव ओभरसियर विष्ट अहिले कार्यालयको कामको शिलसिलामा सुर्खेतमा हुनु हुन्छ । यस विषयमा हामीले उहाँ आएपछि मात्र यकिन भन्न सके छौ ।’
यसैबीच सवओभरसियर विष्टसंग उनकोे व्यक्तिगत नम्बरमा टेलिफोन सम्पर्क गर्दा उपभोक्ता समिति मार्फत आफुले २० हजार रुपैया लिएको स्विकारेका छन् ।